१६ असार २०८३, मंगलबार

अग्निपीडितलाई तत्काल राहत दिन्छौं : मुख्यमन्त्री राई

बैशाख ४, २०७८
अग्निपीडितलाई तत्काल राहत दिन्छौं : मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अग्नि पीडित परिवारको उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आगलागीबाट धनमालसहित घरबास गुमाएका ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घरमा पुगेर उनले अग्निपीडित परिवारलाई तत्काल उद्धार र राहत दिन प्रदेश सरकार लागिपरेको बताए ।

‘आगलागीका घटना बढेकाले ठूलो जनधनको क्षति भयो । वनजंगलमा लागेको आगो बिस्तारै नियन्त्रणमा आए पनि घरमा लागेको आगो नियन्त्रणमा नआउँदै सबै जलिसक्ने परिस्थिति छ,’ उनले भने, ‘आगोबाट छाना, खाना र नाना गुमाएका अग्नि पीडितलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्छ ।’ 

मुख्यमन्त्री राईले स्थानीय सरकार र सरोकारवालाले पनि विपद्मा परेका परिवारलाई मानवीय हिसाबले सक्दो सहयोग गर्नुपर्ने बताउँदै दुर्गम, भौगोलिक विकटता र आवश्यक उपकरण अभावका कारण आगलागीका घटना तत्काल नियन्त्रण गर्न नसक्दा बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्राकृतिक प्रकोपका अलवा मानवीय त्रुटि, अव्यवस्थित बसोबास र कमजोर विद्युतीय उपकरण प्रयोगका कारण हुने आगलागीबाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यसतर्फ सचेत हुनुपर्ने बताए ।

उनले विपद्बाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै सरकारबाट उपलब्ध हुने राहतले तत्कालका लागि समस्या समाधन गरे पनि स्थानीय समुदायकै साथले दीर्घकालीन संरचना निर्माणमा टेवा पुग्ने बताए । उनले भने, ‘सरकारले तत्कालका लागि राहतका कार्यक्रम ल्याएर सकेको सहयोग त गर्छ नै तर छरछिमेकीको सहयोग नै यस्तो बेला महत्त्वपूर्ण हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्