ओलीले स्पष्टीकरण सोधेपछि यस्तो रणनीतिमा नेपाल समूह

एमालेको नेपाल समूहले पार्टी विभाजन नगर्ने तर अन्तर्संघर्ष गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी विभाजन गर्न लागेको र समानान्तर कमिटी बनाउँदै नयाँ दलको अभ्यास गरेको भन्दै स्पष्टीकरण सोधेलगत्तै बसेको माधव नेपाल समूहका स्थायी कमिटी सदस्य र सांसदको बैठकले पार्टी विभाजन नगरी अन्तर्संघर्ष गर्ने निर्णय गरेको हो। नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टीभित्र निषेध गरेर ओलीले नै विभाजनको रेखा कोरेको तर आफूहरू एकताको प्रयासमा लागेको दाबी गरे। ‘ओलीले पार्टी विभाजन गर्न खोजे पनि हामीले रोक्ने प्रयास गरिरहेका छौं। हामीले अहिले पनि पार्टी विभाजनको विपक्षमा निर्णय गरेका छौं’, उनले भने।  

अध्यक्ष ओलीले नेता नेपालसहित प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसद र स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। नेपाल पक्षले पार्टीभित्र अन्तर्संघर्ष गर्ने बाटो पनि ओलीले बन्द गरेपछि बाध्य भएर समानान्तर कमिटी बनाएर अघि बढ्नुपरेको प्रष्ट पारेको छ। बैठकले पार्टी फुटाउन लागेको जस्ता झुटा आरोप लगाएर अध्यक्ष ओलीले स्पष्टीकरण सोधेको भन्दै त्यसको सामना गर्ने निर्णय पनि गरेको छ। नागरिक दैनिकमा खबर छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्