१६ असार २०८३, मंगलबार

काठमाडौंको मेयरमा १९ भोट पाएका ‘हिमालयन टाइगर’ भन्छन्–‘जालझेल भयो, अदालत जान्छु’

कात्तिक २०, २०७४
काठमाडौंको मेयरमा १९ भोट पाएका ‘हिमालयन टाइगर’ भन्छन्–‘जालझेल भयो, अदालत जान्छु’

काठमाडौं, १५ जेठ – ‘हिमालयन टाइगर’ उपनामले चिनिने नेपालका रेस्लिङ खेलाडी भरतबहादुर बिसुरालले यसपटकको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी मनोनयनको दिन ‘हिमालयन टाइगर’को चर्चा राजनीतिक दलका कुनै उम्मेदवारको भन्दा कम थिएन । तर झण्डै २ लाख मत खसेको काठमाडौंको अन्तिम नतिजाले उनी रेस्लिङमा जस्तै ‘रिङ आउट’ भए ।

उसो त २०४८ सालदेखि निर्वाचनमा भाग लिँदै आएका बिसुरालले विगतमा पनि त्यस्तो उल्लेख्य मत पाएका थिएनन् । तैपनि उनी चुनाव लड्न छाडेका छैनन् । संविधानसभाको पहिलो चुनावमा पनि बिसुरालले काठमाडौं क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रबाटै स्वतन्त्र चुनाव लडे ।
अहिलेसम्मको चुनावमा उनले कुनै उल्लेखनीय परिणाम त ल्याउन सकेका छैनन्, तर हरेक चुनावमा सहभागी हुन भने छाडेका छैनन् ।

दर्जनभन्दा बढी मुलुक भ्रमण गरेका बिसुराल आफूले विभिन्न मुलुकको विकास देखेको भन्दै काठमाडौंलाई पनि विदेशजस्तै विकसित बनाउने भन्दै काठमाडौंको मेयरमा चुनाव लडेका थिए ।
बिसुरालको चुनावचिह्न पानीको बोतल थियो । चुनावी प्रचार गर्न उनी बीस हजार रुपैयाँ खर्चेर चुनाव अवधिभर पानीको बोतल बाँड्दै हिँडे ।

अन्य दलले जस्तो उनले चुनाव प्रचारमा तडकभडक गर्न सकेनन् । दुई तीनजना युवालाई मात्र प्रचारमा सहभागी गराए । उनीहरूलाई खाना र खाजा तथा गाडीको भाडाबाहेक पैसा खर्च गरेनन् ।
बिसुरालकी श्रीमती काठमाडौंकै नेवार समुदायकी हुन् । चुनाव प्रचारका लागि उनी आफन्त र ससुरालीतिर पनि लागेका थिए । आफूले चिनेजानेका नातेदार, छिमेकी लगायत सबैकहाँ उनी चुनाव प्रचार गर्न भ्याएका थिए । सबैले उनलाई पानीको बोतलमा भोट दिने आश्वासन पाएर निकै दंग थिए ।
चुनावी प्रचार गर्दै युवाहरुका साथमा विसुराल


जित्न नसकेपनि यसपालीको चुनावमा आशातीत परिणाम आउने उनको विश्वास थियो । अर्को, उनी रेस्लिङ लगायत खेल क्षेत्रमा लागेका कारण पनि खेलकुदका प्रेमीहरूमाझ उनको एक किसिमको क्रेज पनि छँदै थियो ।

काठमाडौंको बालाजुस्थित रानीबारीमा बस्ने बिसुरालको त्यसक्षेत्रमा क्रेजपनि बाक्लै भएको उनलाई लागेको थियो । प्रचारका क्रममा समर्थकको कुरा सुनेर उनले यसपालीको चुनावमा करीब १२ सय मत कटाउने लक्ष्य राखेका थिए ।

तर परिणाम त्यस्तो भएन । मेयर पदमा उनले १९ भोट मात्रै पाए । आफ्नो १९ भोट आउँदा निकै चित्त दुखेको बिसुरालले लोकान्तरलाई बताए । ‘भेट भएका सबैले भोट तपाईंलाई नै हो भनेर आश्वासन दिएका थिए, १९ जना मात्र वचनका पक्का रहेछन्,’ उनले भने ।

पुरानो पार्टीबाट देश विकास हुनसक्दैन भन्ने नेपाली जनताले पुरानै पार्टीलाई चुनेर नयाँ शक्तिलाई बेवास्ता गरेकोप्रति उनले गुनासो गरे । मतगणना शुरु गर्दादेखि निर्वाचन आयोगले मुचुल्का उठाउने बेलासम्म पनि आफूलाई खबर नगरेको उनको गुनासो छ ।



मतगणना हुँदै गर्दा मेयरका उम्मेदवार बिसुराललाई राष्ट्रिय सभागृहभित्र उम्मेदवारको परिचयपत्र देखाउँदै छिर्न खोज्दा म्यादी प्रहरीले रोके । पछि मतगणनास्थलमा उपस्थित एक प्रहरी निरीक्षकको सहायता लिएर मतगणनास्थलमा छिरेका थिए उनी ।

रेस्लिङ खेलभन्दा चुनावमा जालझेल

मतगणना हुँदै गर्दा मुचुल्का उठाउँदा आफ्नो हस्ताक्षर नगराएको भन्दै उनले मतगणना नै बहिष्कार गरेको दाबी गर्छन् । ‘रेस्लिङ खेलभन्दा पनि निर्वाचनमा जालझेल हुने रहेछ,’ बिसुरालले भने, ‘चुनावमा भएको धाँधली, अन्याय र जालझेलविरुद्ध अदालत जान्छु ।’

आफूले १९ भोट मात्र पाउने कुरा हुन नसक्ने भन्दै निर्वाचन आयोगले मत गन्न धाँधली गरेको उनले आरोप लगाए ।

त्यसो त ‘हिमालयन टाइगर’का छोराले पनि उनलाई निर्वाचनमा भाग नलिन सुझाएका थिए । ‘ड्याडीलाई अब त रहर पुग्यो होला नि चुनाव लड्न, चुनाव जित्न सकिँदैन भनेर भनेको थियो छोरोले,’ बिसुरालले भने, ‘तर चुनाव लडने धोको अझै पूरा भएको छैन ।’

उमेरले ५९ बर्ष कटेका बिसुराल रेस्लिङ खेलसँगै देशको सेवा गर्ने इच्छालाई निर्वाचन परिणामले कुनै असर नगर्ने बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्