
पश्चिम बंगालमा अन्तिम चरणको विधानसभा निर्वाचन बिहीवार समापत भएपछि विभिन्न एक्जिट पोल आइसकेका छन् ।
धेरैजसो एक्जिट पोलले ममता बनर्जीको तृणमूल पुनः सत्तामा आउने देखाइरहेका छन् । तर तीनवटा सर्वेमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ ।
सबै एक्जिट पोललाई औसतमा राखेर हेर्दा तृणमूल भाजपाभन्दा अलिकति अगाडि देखिएको छ तर भाजपाले उसलाई बहुमत पुग्न नदिएको देखिन्छ । औसतमा हेर्दा तृणमूलले १४३ र भाजपाले १३८ सीट जित्ने देखिन्छ । बहुमतका लागि १४७ सीट आवश्यक पर्छ ।
राज्यमा आठ चरणमा भएको निर्वाचनमा कुल ८१.५९ प्रतिशत मतदान भएको चुनाव आयोगको आँकडा छ । सन् २०१६ मा भएको चुनावमा ८३.०२ प्रतिशत मतदान भएको थियो । त्यतिखेर तृणमूलले २११ सीट जितेको थियो ।
अहिले १.५ प्रतिशत कम मतदान हुँदा तृणमूललाई चिन्ताको विषय बनेको छ । यति सानो अन्तरले सीट जित्ने नजित्ने विषयलाई धेरै फरक पारिदिन सक्छ । तृणमूलले बहुमत पाएपनि पहिलेको भन्दा ५० देखि ६० सीट कम पाउने त सबैजसो एक्जिट पोलले देखाएका छन् ।
यही प्याटर्न लोकसभा चुनावमा पनि देखिएको थियो । सन् २०१९ मा चुनावको भोटिङ प्रतिशत ८३.०२ बाट घटेर ८१.६७ प्रतिशतमा झरेको थियो । त्यसबेला भाजपाले लोकसभाको १८ सीट जितेको थियो । यस्तो अवस्थामा भोटिङ प्रतिशत कम हुँदा सीटमा धेरै फरक पारेछ भने तृणमूलले बहुमत गुमाउन सक्छ ।
तर केही चुनावी विश्लेषकहरूका अनुसार, ममता सरकार १० वर्षदेखि बंगालमा छ र एन्टी इन्कम्बेन्सी फ्याक्टर पनि प्रबल छ । यस्तो अवस्थामा बढी मतदान भएको भए ममतालाई क्षति पुग्न सक्थ्यो किनकि मतदान प्रतिशत बढ्दा सत्तारूढ दललाई घाटा हुने गरेको छ ।
बंगालमा पछिल्ला केही चुनावहरूमा मतदान प्रतिशत एकाध प्रतिशतको अन्तरका साथ अहिलेकै जस्तो देखिएको छ । यसैका आधारमा मात्र निष्कर्ष निकाल्न मिल्दैन ।
बरू वामपन्थी र कांग्रेसको कति भोट भाजपालाई गयो भन्ने कुरा महत्त्वपूर्ण छ । लोकसभा निर्वाचनमा यी दुई दलको भोट घटेर १२ प्रतिशतमा झरेको थियो । उनीहरूले पाउने भोट भाजपालाई गएको थियो । यसपालि पनि यो शिफ्ट बढी भएमा तृणमूलको समस्या झनै बढ्नेछ ।