भारतको उत्तर प्रदेशमा कोरोनाभाइरस रोगीहरूको संख्या बढेको बढ्यै छ ।
राजधानी लखनउमा रहेको कृष्णा नगर थाना क्षेत्रमा घरैमा होम क्वारेन्टीनमा पिता अरविन्द गोयल र छोरा ईलू गोयलको मृत्यु भएको छ ।
छिमेकीहरूलाई लाशको दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आइपुगेपछि स्थानीयहरूले ठूलो हतौडा लिएर घरको ढोका फोरेका थिए ।
ढोका फुटाएर हेर्दा दुईजनाको लाश देखियो । अरविन्दकी पत्नी रञ्जना गोयलको स्थिति निकै गम्भीर थियो र सास फेर्न गाह्रो परिरहेको छ ।
कोरोना संक्रमित भएपछि तीनैजना घरैमा उपचार गरेर बसेका थिए । रञ्जना अपांगता भएकी महिला भएकाले कतै जान सकेकी थिइन् । पति र छोराको मृत्युपछि उनी निकै चिच्याइन् तर कसैले उनको आवाज सुनेन ।
प्रहरीले पिता र पुत्रको शव पोस्टमोर्टमका लागि पठाएको छ । रञ्जनालाई उपचारका लागि लोकबन्धु अस्पताल लगिएको छ ।
चार दिनअघि अरविन्द गोयललाई घरबाहिर डुलेको देखेका छिमेकीहरूले त्यसपछि उनलाई देखेका थिएनन् ।