
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।
आइतवार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले सहज जित निकालेको हो ।
युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।
जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ ।
एस्टन ४८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा उल्भ्सले ब्राइटनलाई २-१ ले हराएको छ ।
आइतवार राति एभर्टनले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई १–० ले हरायो । जितसंगै एभर्टनले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ ।
एभर्टन लिगको आठौं स्थानमा छ । तर एक खेल कम खेलेको एभर्टन सातौं स्थानको टोटेनहमसंग एक अंक र पाँचौ स्थानको वेस्ट ह्यामसंग ३ अंकले पछि छ ।