
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म संकलन गरिएका २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ ।
ती मध्ये ९ सय वटा सिलिन्डर अस्पताललाई र १ हजार ८ सय ८१ वटा सिलिन्डर अक्सिजन उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो ।
साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।
जथाभावी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकाय उपर प्रचलित ऐन कानुन बमोजिम कारबाही हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।