२८ जेठ २०८३, बिहीबार
कोरोना संकट

कोरोनाको दोस्रो लहर: महत्त्वपूर्ण आयोजनाहरू प्रभावित, कामदार घर हिँडे, प्राविधिक आउन पाएनन् !

बैशाख २९, २०७८
कोरोनाको दोस्रो लहर: महत्त्वपूर्ण आयोजनाहरू प्रभावित, कामदार घर हिँडे, प्राविधिक आउन पाएनन् !

मुलुकमा निर्माणाधीन अवस्थामा रहेका विकासका आयोजनाहरू कोरोनाभाइरस (कोभिड–१९) महामारीको चपेटामा परेका छन् ।

कोभिड– १९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण चालू विकासका आयोजनाको काम प्रभावित भएको हो ।

कोभिड १९ को महामारी बढ्दै जाँदा वि.सं २०७६ चैत ११ गते सरकारले पहिलोपटक मुलुकमा निषेधाज्ञा जारी गरेको थियो ।

सो निषेधाज्ञा २०७७ साउनदेखि कम हुँदै जाँदा प्रभावित आयोजनाको काम पुनः सञ्चालनमा आएको थियो । 

गत साउनदेखि निरन्तर सञ्चालनमा रहेका विकासका आयोजनाको काम कोभिड– १९ को दोस्रो लहरको प्रकोप बढेसँगै जारी निषेधाज्ञाले प्रभावित बनेको हो ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । जुन आगामी जेठ १३ गतेसम्म लम्बिएको छ । समाचार तयार गर्दै गर्दा मुलुकका ७० जिल्लामा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाका बीचमा जारी भइरहेका आयोजनाका कामहरू प्रभावित भएसँगै यसले थप व्ययभार बढाउनेतर्फ विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । 

निषेधाज्ञाका कारण निर्माणाधीन आयोजनाहरूमा जनशक्ति व्यापक कटौती गर्नुपरेको छ । यस्तै हवाई उडान रोकिँदा विभिन्न मुलुकबाट ढुवानी गर्नुपर्ने निर्माण सामग्रीहरू समेत उतै रोकिएका छन् ।

जारी निषेधाज्ञा लम्बिँदै गएको अवस्थामा कामै ठप्प हुने अवस्था आउन सक्ने निर्माण कम्पनीहरूको चिन्ता छ ।  

मुलुकमा अहिले बहुप्रतिक्षीत काठमाडौं–तराई द्रूत मार्ग, भेरी–बबई डाइभर्सन आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।

यीसँगै कतिपय सञ्चालनमा आउनै लागेका बहुप्रतिक्षीत आयोजनाहरूमा समेत निषेधाज्ञाको असर देखिएको छ ।

कुन आयोजनामा कस्तो असर ? 

जनकपुर–जयनगर रेल

बहुप्रतिक्षीत आयोजना मध्येको एक हो, जनकपुर जयनगर रेल । यस मार्गमा रेल सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।

सरकारले गत आइतवारमात्रै अध्यादेशमार्फत रेल ऐन कार्यान्वयनमा ल्याएको छ ।

अधिकांश प्राविधिक कामहरू पूरा गरेर बसेको यस आयोजनामा निषेधाज्ञाको असर परिसकेको छ ।

विभिन्न दक्ष जनशक्तिहरू भर्ना लिएर तालिम सञ्चालनको चरणमा रहेको यस आयोजनामा अहिले काम रोकिएका छन् । ‘निषेधाज्ञाका कारण जनशक्तिलाई दिइरहेको तालिम रोकिन पुगेको छ,’ नेपाल रेल्वे कम्पनीका महानिर्देशक गुरू भट्टराईले लोकान्तरसँग भने । 

उनका अनुसार निषेधाज्ञा नभएको अवस्थामा कम्तिमा एक महिनाभित्र यस आयोजनालाई सञ्चालनमा ल्याउने तयारी थियो ।

रेल सञ्चालनका लागि आन्तरिक तथा भारतमा लगाइएको निषेधाज्ञाले असर गरेको उनको भनाइ छ । 

महानिर्देशक भट्टराईले भने, ‘क्रसबोर्डर चलाउने भएर सरकारले सीमा खुला गर्ने निर्णय नगरेसम्म रेल चलाउन सक्दैनौँ । आन्तरिक र भारतमा जारी निषेधाज्ञा नखुल्दासम्म रोकिने देखियो ।’

उनले जनशक्ति व्यवस्थापनका लागि केही समय लागेको भन्दै निषेधाज्ञाका कारण उनीहरूको तालिम रोकिएको बताए । 

‘तालिम चलिरहेको थियो, बीचैमा बन्द गर्नुपर्‍यो । निषेधाज्ञा नभएको भए हामीले यतिखेर उद्घाटन गर्ने सोच थियो, त्यो पनि रोकियो ।’

निषेधाज्ञा रोकिएको १५ दिनदेखि एक महिनाभित्रमा नै रेल सञ्चालन गर्न सकिनेमा अहिले त्यो अनिश्चित रहेको महानिर्देशक भट्टराईको भनाइ छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

बहुप्रतिक्षीत माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अहिले निर्माण सकिएर परीक्षणको चरणमा छ । परीक्षण भइरहेको यस आयोजनामा निषेधाज्ञाको असर उत्तिकै छ ।

‘निषेधाज्ञाका कारण भारतबाट केही प्राविधिकहरू ल्याउनुपर्नेमा त्यो रोकिएको छ,’ आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लोकान्तरसँग भने । 

उनले कतिपय जनशक्तिहरू बीच बाटोमै अड्किएको समेत बताए । उनले भने, ‘ठेकेदारका मानिसहरू, कतिपय प्राविधिकहरू बीच बाटोमै रोकिएका छन्, सबैभन्दा मुख्य समस्या नै यही छ ।’

समस्याका बीच पनि निरन्तर काम गरेर जेठ दोस्रो साताबाट आयोजनालाई सञ्चालनमा ल्याउने प्रवक्ता न्यौपानेको दाबी छ । 

भेरी–बबई ड्राइभर्सन

​अहिले भेरी बबई ड्राइभर्सनको काम चालू छ । यद्यपि निषेधाज्ञाका कारण आवश्यक जनशक्ति बाहिरबाट ल्याउनका लागि भने समस्या भएको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर ईश्वरीप्रसाद तिवारीले लोकान्तरलाई बताए । उनले भने, ‘दोस्रो पावरहाउस कम्प्लिट गर्ने काम गरिरहेका छौं, निषेधाज्ञाको असर परेको छ, भित्रकै जनशक्तिले जति धान्छ, त्यतिमात्रै काम गर्नुपर्ने बाध्यता छ ।’
आयोजना वि.सं २०८० मा सक्ने लक्ष्य रहेकोमा अहिले निषेधाज्ञाका कारण निर्माण कार्यमा असर पर्ने देखिएको उनले बताए । 

अहिले ६० जना स्थानीय कामदारहरू आयोजनामा रहेका छन् । बाहिरबाट कामदार ल्याउन नसकिएको अवस्था रहेको इञ्जिनियर तिवारी बताउँछन् । 

काठमाडौं–तराई द्रूतमार्ग

​नेपाली सेनाले निर्माण गरिरहेको बहुप्रतिक्षीत काठमाडौं–तराई मधेश द्रूतमार्गको काममा पनि निषेधाज्ञाको असर देखिन थालेको छ । जनशक्ति आउन जान नमिल्ने भएका कारण सुपरभाइजरहरूले त्यहीँ बसेर कामको भर्चुअल निरीक्षण गर्नुपरेको र त्यहीँबाट काम गराउनुपर्ने अवस्था रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए ।

उनले अहिले आन्तरिकरूपमा भएका ठेक्काहरूका आधारमा लेबलिङ, ग्रेडिङजस्ता कामहरू भइरहेको जानकारी दिए । उनले भने, ‘निषेधाज्ञाको अहिले दोस्रो सातामा छौं, अझै १४ दिन निषेधाज्ञा लम्बिएको छ, अझै पनि जारी रहेमा काममा अझै असर पर्ने देखिन्छ ।’

सेनाले सामान्य अवस्थामा अबको एक महिनामा सुरुङ मार्गको काम शुरू गर्ने तयारी गरेको छ ।

यद्यपि निषेधाज्ञा कहिलेसम्म जान्छ भन्ने निश्चित नहुँदा यो काम तत्कालै अगाडि बढ्नेमा शंका छ । 

प्रवक्ता पौडेलले लोकान्तरसँग भने, ‘सुरुङमार्गका लागि आवश्यक सामग्रीहरू बाहिरबाट ल्याउनुपर्ने भएको अवस्थामा त्यो ल्याउन सकिँदैन ।’

तत्कालै पनि आयोजनामा निषेधाज्ञाको आंशिक असर परेको प्रवक्ता पौडेलको भनाइ छ ।  

पोखरा अन्तराष्ट्रिय विमानस्थल

सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञाको असर देखिएको छ । 

कोभिड– १९ संक्रमणको त्रासका कारण अधिकांश नेपाली कामदारहरू घर गएको आयोजना प्रमुख विनेश मुनकर्मीले लोकान्तरलाई बताए । 

उनले भने, ‘कामदारहरू घर गएका छन्, सामान्य अवस्थामा  करीब ५ सयजना नेपाली कामदार रहेकामा अधिकांश घर गएर करीब १ सय जनामात्रै कर्मचारीले काम गर्नुपरेको अवस्था छ ।’

उनका अनुसार अहिले १ सय ६६ जना चिनियाँ कामदार आयोजना स्थलमा रहेका छन् । केही जनशक्ति भारतबाट पनि आउनुपर्नेमा उनीहरू आउन नसकेको उनले बताए । मे महिनामा अपरेसन टीमहरू आउने कार्यक्रम रहेकोमा अहिले उडान बन्द भएका कारण त्यो पनि रोकिएको उनले बताए । 

आगामी डिसेम्बरसम्ममा आयोजना सक्ने लक्ष्य रहेकोमा निषेधाज्ञाले यो समय पर धकेलिन सक्ने आयोजना प्रमुख मुनकर्मीले बताए । 

अन्य विमानस्थलको काममा पनि समस्या 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमात्र हैन निषेधाज्ञाका कारण भैरहवा विमानस्थल निर्माणको काममा पनि असर परेको छ ।

यी बाहेक अन्य आन्तरिक विमानस्थलहरूमा पनि निषेधाज्ञाको असर पर्न शुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लोकान्तरलाई बताए ।

‘राष्ट्रिय गौरवका आयोजना रहेका पोखरा र भैरहवा विमानस्थलको काममा केही असर पर्ने भयो, अन्य साना विमानस्थल त ठप्पै भए,’ प्रवक्ता क्षेत्रीले भने । 

उनका अनुसार, समग्रमा विमानस्थल निर्माणको काममा निषेधाज्ञाको आंशिक असर देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्