
मिर्गाैला बेचबिखन गरेका आरोपमा सप्तरी प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुबारीका २४ वर्षीय रमेश विश्वकर्मालाई बुधवार पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा सोही ठाउँका ३५ वर्षीय काले भनिने विश्वकर्मालाई पक्राउ गरी मानव बेचबिखन विरुद्धको उजुरी दर्ता गरिएको ईलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।
काठमाडौंंमा बस्दै आएका टिप्पर सहचालक आफूलाई आरोपी विश्वकर्माले ललाइफकाई बुटवलसम्म पुर्याएको र राम्रो पारिश्रमिक पाइने लोभ देखाई अपरिचित व्यक्तिको जिम्मा लगाएर भारत पठाएको पीडितले बताए ।
मादक पदार्थ खुवाई भारत पुर्याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोस बनाई अस्पताल पुर्याएर वैशाख २ गते मिर्गाैला निकालेको पीडितको आरोप छ ।
अस्पतालमा १० दिन राखेपछि ५ हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रवार आफू घर आइपुगेको पीडितकी पत्नी नीराले जानकारी दिइन् ।
अर्का आरोपितको पहिचान खुलिसकेको छैन । प्रहरी निरीक्षक पासवानले मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंसँग समन्वय गरी अपरिचित आरोपितको खोजी गरिएको जनाएको छ ।