२२ असार २०८३, सोमबार

तत्कालका लागि एमाले विभाजनबाट जोगियो, विवाद मिलाउन कार्यदल बनाइयो

बैशाख ३०, २०७८
तत्कालका लागि एमाले विभाजनबाट जोगियो, विवाद मिलाउन कार्यदल बनाइयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) तत्कालका लागि विभाजनबाट जोगिएको छ । पार्टीभित्रको विवाद उग्र बन्दै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा समेत दिने तयारी गर्दै गर्दा बिहीबार भएको वार्ता सकारात्मक बनेको  हो । 
राजधानीको चपली हाइटमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ता सकारात्मक बन्दै पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको छ । 

 प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्र देखिएको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिए । उनले आफूले बैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुराई नयाँ ढंगले अघि बढाउने बारे छलफल भएको जानकारी दिए । उनले छलफल मिल्ने दिशामा अघि बढेको पनि बताए । 

उनले भने, “हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टी भित्रको समस्याको बारेमा हामीले आफ्नो आफ्नो सोचाई राख्यौ । बैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे  विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपश्चात भएका निर्णयहरु फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुराउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अबलम्बन गर्ने भन्ने बारेमा छलफल जारी राख्ने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।”

बिहिबार बिहान बसेको नेकपा एमाले स्थायी समिति बैठकले राष्टिय राजनीतिमा र पार्टीभित्र महत्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । सोही बैठकले नेता नेपाल सहित ४ जना नेतामाथि लगाएको निलम्बन पनि फुकुवा गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्