
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २८ औं स्मृति दिवस सोमवार मनाइँदैछ । मदन स्मृति दिवसको अवसरमा एमालेले पुरानो पार्टी कार्यालय बल्खुमा विशेष कार्यक्रम राखेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमयी दुर्घटना भएको थियो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम राखिएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यक्रममा माधव नेपाल पक्षलाई पनि बोलाइएको छ । यसअघि वैशाख ११ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित पार्टी कार्यालय शिलान्यास कार्यक्रममा नेपाल पक्ष सहभागि भएको थिएन । त्यो बेला पार्टी विवाद उत्कर्षमा पुगेपनि पछिल्लो समय एमाले विवाद सहमति उन्मुख छ । आइतवार मात्र एमाले विवाद समाधानका लागि दुवै पक्षका पाँच पाँच जना सदस्य रहेको कार्यदल बनेको थियो ।
स्मृति दिवसको अवसरमा विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा र विकास गर्दै जाने संकल्प व्यक्त गरेका छन् ।