
लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनमा एक्लै नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी उपेन्द्र पक्षको गठबन्धन चुनावी मैदानमा उत्रिएको छ ।
नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट ४ वर्षे कार्यकालका लागि राष्ट्रियसभा सदस्य बनेका खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।
राष्ट्रियसभा सदस्यको पद रिक्त भएपछि अहिले उपनिर्वाचन गर्न थालिएको छ । खड्का मालारानी–५ अर्घाखाँची निवासी हुन् । अहिले उनलाई नेकपा एमालेले जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिएको छ ।
अर्का उम्मेदवार दृगनारायण पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका छन् । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य रहेका उनी पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गरेलगत्तै उनले राष्ट्रिय सभामा टिकट पाएका छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ रहेको छ । राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता हुन्छन् । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी केन्द्रका ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् ।
लुम्बिनी प्रदेश सभामा नेकपा एमाले ४२ जना सांसद हुन् तर विमला ओलीले माओवादी केन्द्र रोजेकी छन् भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । दृगनारायण पाण्डेले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका छन् । अहिले एमालेका ३९ जना सांसद छन् ।
नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन् ।