०७ साउन २०८३, बिहीबार

चीनसँग बेस्सरी रिसायो इजरायल !

जेठ ६, २०७८
चीनसँग बेस्सरी रिसायो इजरायल !

इजरायल र प्यालेस्टाइनबीचको संघर्षमा चीनले प्यालेस्टाइनीहरूलाई समर्थन गरेको संकेत त्यहाँका सञ्चारमाध्यममा छापिएका सामग्रीबाट पाइएको छ ।

चीनको सञ्चारमाध्यम सरकारको नियन्त्रणमा रहेकाले सरकार नै प्यालेस्टाइनीहरूको समर्थनमा रहेको हो कि भन्ने अनुमान लगाइएको छ । 

यसैबीच मंगलवार चीनमा रहेको इजरायली दूतावासले ट्वीट गरेर चिनियाँ मिडियामा इजरायल र प्यालेस्टाइनीहरूबीचको संघर्षका विषयमा चिनियाँ मिडियामा भएको कभरेजका विषयमा कडा आपत्ति जनाएको छ ।

ट्वीटमा लेखिएको छ, ‘संसारभरि यहुदीहरूको नियन्त्रण छ भन्ने षड्यन्त्र सिद्धान्त पुरानो भइसकेको जस्तो हामीलाई लाग्छ । तर दुर्भाग्यवश यहुदीविरोधी अनुहार फेरि देखिन थालेको छ । चीनको सरकारी मिडियामा खुलेआम यहुदीविरोधी कभरेज चिन्ताजनक छ ।’

मंगलवार सीजीटीएन टीभी च्यानलका होस्ट चङ चुनफङले इजरायललाई अमेरिकाले गरिरहेको समर्थनका विषयमा प्रश्न उठाएका थिए । अमेरिकी समर्थन लोकतान्त्रिक मूल्यमान्यतामा आधारित छ त भनी उनले सोधेका थिए । 
 

चङले भने, ‘अमेरिकामा धनी यहुदीहरू तथा परराष्ट्रनीति बनाउनेहरूमा यहुदी लब्बीको प्रभावका कारण इजरायलप्रति अन्धसमर्थनको नीति लिइएको छ । यहुदीहरू आर्थिक र इन्टरनेटको क्षेत्रमा प्रभुत्वशाली छन् । त्यसैले उनीहरू शक्तिशाली छन् भन्ने धेरैको मान्यता छ ।’

अमेरिकाले पश्चिम एसियामा इजरायलको उपयोग आफ्नो प्रभुत्व जमाउन तथा अरबहरूका विरुद्ध प्रोक्सीका रूपमा गर्ने गरेको छ भनी चङले बताए । 

इजरायली दूतावासको आरोपका विषयमा सीसीटीभीले कुनै जवाफ दिएको छ । सीसीटीभीको जुन ट्वीटमा इजरायली दूतावासले रिप्लाई गरेको थियो, त्यो ट्वीट अहिले डिलिट गरिएको छ । 

तर चीनले प्यालेस्टाइनीहरूको खुला समर्थन गरेको छ । संयुक्त राष्ट्रसंघमा इजरायली आक्रमणको निन्दा गर्ने प्रस्ताव पनि उसले ल्याएको छ तर अमेरिकाले त्यसमा भिटो लगाएको छ ।

चीन र इजरायलबीच सन् १९९२ देखि कूटनीतिक सम्बन्ध कायम छ । दुई देशबीच आर्थिक, प्राविधिक र सैन्य सम्बन्ध निकटवर्ती छ । तर चीनले प्यालेस्टाइनी र अरबहरूसँग पनि निकट सम्बन्ध राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्