२५ जेठ २०८३, सोमबार

मारमा मुटु, मिर्गौला तथा क्यान्सरका बिरामी

जेठ १०, २०७८
मारमा मुटु, मिर्गौला तथा क्यान्सरका बिरामी
फाइल तस्वीर

कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ ।

खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत दीर्घरोगका बिरामी कोरोना महामारीबीच बढी प्रताडित छन् । यद्यपि, स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ ।

निषेधाज्ञाका कारण दीर्घरोगीलाई आवतजावतमा समस्या हुँदै आएको छ । काठमाडौंका विभिन्न अस्पताललगायत देशबाहिरै गएर उपचार गराइरहेका बिरामीले प्रत्यक्ष चिकित्सक भेटेर ‘फ्लोअप’ गर्न पाएका छैनन् ।

‘मेरो छाती एकदमै दुख्छ, एकपटक काठमाडौं गएर चेकजाँच गरौं भनेको सार्वजनिक गाडी पनि चल्दैनन्,’ कपिलवस्तु चन्द्रौटाका श्याम त्रिपाठीले आइतबार राजधानीसँगको फोन सम्पर्कमा सुनाए, ‘एम्बुलेन्समा जाऊँ भने महँगो पर्छ । फेरि काठमाडौं आएपछि उपचार नपाइने हो कि ? भन्ने चिन्ता पनि छ ।’

केही सरकारी अस्पतालले मिर्गौलापीडितलाई डायलासिस र थप उपचारका लागि समेत ‘बेड नभएको’ भन्दै फर्काउने गरेको पाइएको छ । मुटु, मिर्गौला तथा क्यान्सरका बिरामीसमेत प्रत्यक्ष मारमा परेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन छुट्टै ‘ननकोभिड’ अस्पताल व्यवस्था गरिए सहज हुने बताउँछन् । ‘कोभिड अस्पतालमा कोरोना संक्रमण नभएका जानै डराउँछन्,’ उनी भन्छन्, ‘मुख्यतः गर्भवती, दीर्घरोगी, आकस्मिक शल्यक्रियाका बिरामी पनि हुन्छन् । कोरोना संक्रमण नभएकाको बिरामी उपचार गराउने सरकारी अस्पतालको सूची सार्वजनिक गरे सहज हुनेछ ।’राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्