
अमेरिकाको गुप्तचर संस्थाले तयार पारेको प्रतिवेदनमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका बिरामी कर्मचारीले कोरोना फैलाएको भन्ने आशय व्यक्त गरिएको र त्यसलाई द वाल स्ट्रीट जर्नलले प्रकाशन गरेकोमा चीनले आपत्ति जनाएको छ ।
उक्त इन्स्टिच्युटका निर्देशक युआन चिमिङले सोमवार ग्लोबल टाइम्ससँग कुरा गर्दै सन् २०१९ को नोभेम्बर महिनामा प्रयोगशालाका तीनजना कर्मचारी बिरामी भएको खबर झूटो भएको बताएका हुन् ।
‘मैले त्यो समाचार पढें, त्यो पूरै झूटो हो,’ युआनले बताए ।
वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख गरिएको प्रतिवेदनमा प्रयोगशालाका कर्मचारीहरूमा कोभिड–१९ र मौसमी रुघाखोकी दुवैका लक्षण देखिएको भनिएको छ ।
‘यी दाबीहरू आधारहीन छन् । प्रयोगशालालाई बिरामी कर्मचारीको कुनै जानकारी छैन र यस्तो सूचना कहाँबाट आयो भन्ने मलाई थाहा छैन,’ उनले बताए ।
वर्ल्ड हेल्थ एसेम्ब्लीको पूर्वसन्ध्यामा वाल स्ट्रीट जर्नलले यो समाचार प्रकाशन गरेको हो । त्यस भेलामा कोभिड–१९ को उत्पत्तिका विषयमा अर्को चरणको अनुसन्धानका विषयमा छलफल गरिने अपेक्षा छ ।
अमेरिकी राजनीतिकर्मी र सञ्चारमाध्यमहरूले प्रयोगशालाबाट कोभिड चुहिएको षड्यन्त्र सिद्धान्तलाई लगातार प्रस्तुत गरिरहेका छन् । तर विश्व स्वास्थ्य संगठन र चीनका वैज्ञानिकहरूको संयुक्त अध्ययन टोलीले वुहानको फील्ड स्टडी गरी प्रयोगशालाबाट चुहिएको कुरा लगभग असम्भव रहेको निष्कर्ष निकालेको छ ।