
गुल्मी, जेठ १९ - दोस्रो चणमा हुने स्थानीय तहको चुनावका लागि गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको उम्मेदवार छनोटका विषयलाई लिएर कांग्रेसभित्र विवाद भएको छ । जिल्लामा रहेका सबै स्थानिय तहमा उम्मेदवार टुंगो लगाएपनि रेसुंगा नगरपालिको प्रमुखमा भने बिवाद देखिएको छ ।
नगर प्रमुख पदमा दुई नेताले उम्मेदवारी दाबी गरेपछि बिवाद बढेको हो । नगरप्रमुखमा कांग्रेसका नेता भुवनप्रसाद श्रेष्ठ र शालिक पन्थीले दावी गरेका छन् । दुबै नेताहरुले आफूले जित्ने दावी प्रस्तुत गरेर टिकटका लागि दावी गरेका छन् ।
उनीहरु सहित थप दुई जनाको नाम केन्द्रमा पठाइएको छ । उम्मेदवार छनोटमा कांग्रेस गुल्मीमा विशेष गरि श्रेष्ठ पक्ष र पन्थी पक्ष दुई गुट बनेको छ । श्रेष्ठ पक्षका कार्यकर्ताले श्रेष्ठ नै उम्मेदवार हुनुपर्ने भनेका छन् भने पन्थी पक्षले पन्थीलाई नै उम्मेदवारी दिनुपर्ने मत रहेको छ ।
जिल्ला तहबाट नाम सिफारिस नभएपछि यतिबेला दुबै पक्षले केन्द्रमा उम्मेदवार छनोटको लागी लबिङ गरिरहेका छन् । कांग्रेसका एक नेताका अनुसार केन्द्रमा दुबै पक्षले ठुला नेताहरुलाई सिफारिस गर्न दवाव दिएका छन् ।
उम्मेदवार छनोटको लागी शुक्रावार साँझ सम्म कांग्रेसको केन्द्रिय कार्यालयमा छलफल हुने बताइएको छ । उम्मेदवार छनोट समितिले पार्टी सभापति श्रेष्ठलाई मेयरमा सिफारिस गर्ने भनेपछि पन्थीले असन्तुष्टि जनाएका थिए ।
छनौट समितिले पूर्वाग्रही निर्णय गरेको आरोप लगाउँदै पन्थी र कोषाध्यक्ष हरिबहादुर केसीले नोट अफ डिसेन्ट लेखेका छन् । जसले गर्दा नगर भित्र चुनावी बिबाद चुलिदै गएको छ ।
पार्टीका सवै अवसर सिमित व्यक्तिले मात्र लिनु पार्टी म¥र्यादा विपरित हुने पन्थी पक्षको रहेको छ । पार्टीको भर्खरै सम्पन्न अधिवेशनमा समेत सभापति पदका लागि पन्थी श्रष्ठका प्रतिस्पर्धी थिए ।
यी दुबै नेता कांग्रेसमा रामचन्द्र पौडेल लाइनका हुन् ।