०८ असार २०८३, सोमबार
लकडाउन डायरी - भाग ६

पवन गोल्यानको लकडाउन डायरी– 'अघिल्लोपटक त खुबै खाना बनाएँ, यसपालि अलि भ्याएको छैन'

पवन गोल्यानको लकडाउन डायरी– 'अघिल्लोपटक त खुबै खाना बनाएँ, यसपालि अलि भ्याएको छैन'

‘निषेधाज्ञाको अहिलेको समयमा म युवाहरूलाई मोटिभेट गर्ने र कृषिकर्मीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामा नै म व्यस्त छु,’ प्रतिष्ठित उद्यमी तथा गोल्यान ग्रुपका अध्यक्ष पवनगोल्यान भनाइ हो यो ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै निषेधाज्ञा जारी भएको एक महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा गोल्यान घरमै छन् । उनले घरबाटै विभिन्न काम गर्दै आएका छन् । 

लकडाउन डायरीका लागि लोकान्तरसँगको कुराकानीमा गोल्यानले भने, ‘अनलाइन वा फोनबाट कृषक तथा युवाहरूलाई मोटिभेट गरिरहेको छु । जति गर्न सक्छु, त्यति त गर्न सकेको छैन, तर गरिरहेकै छु ।’

प्रस्तुत छ, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै यसको न्यूनीकरण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको पनि १ महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा प्रायः म घरमा नै छु । यस्तो समयमा सकभर बाहिर नजाँदा नै ठीक हुन्छ । 

विगतका दिनहरूमा भन्दा घरमा बस्दा केही समय खाली हुन्छ । मैले पनि केही फुर्सद पाएको हुन्छु । यसमा कहिलेकाहीँ खल्लो त हुन्छ, तर पनि अहिले प्रविधिले फड्को मारिसकेको अवस्थामा खाली भन्ने हुँदो रहेनछ । अनलाइन तथा जूम माध्यमबाट अफिसका कामहरू गर्ने, मिटिङमा सहभागी हुने काम गरिरहेको हुन्छु । 

यो बीचमा आगामी आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेट सार्वजनिक भएको छ । बजेट आउनुपूर्व बजेटलाई सुझाव दिनमा व्यस्त भएँ । अहिले बजेटको समीक्षामा समय दिनुपरेको छ । 

मेरो दिनचर्या पहिले र अहिले उस्तै उस्तै छ । पहिलाकै रुटिङमा चलिरहेको छु । सामान्यतयाः म बिहान ७ बजे उठिसक्थेँ । तर निषेधाज्ञापछि भने आधा घन्टा जति ढिला उठ्छु । 

त्यसपछि आधा घन्टादेखि ४५ मिनेट जति लाइट (सामान्य) एक्सरसाइज गर्ने गरेको छु । अहिले घरमै जीम बनिसकेको छ । अब हप्ताको ४ दिन बेलुकी ५ बजेपछि एक घन्टा जीम जाने सोच छ । 

यसबीचमा परिवारको साथमा अलि बढी बिताइन्छ । विगतमा हेर्न नभ्याएका चलचित्र तथा सिरियलहरू हेर्ने गरेको छु । 

मैले विशेषगरी एक्सन ओरेन्टेड चलचित्रहरू हेर्छु । क्राइम थिलर मूभीहरू हेर्न रुचाउँछु । यस्ता चलचित्रहरूमा एक्साइटिङ हुन्छ, मर्डर भयो भने कसरी भयो भन्ने हुन्छ ।

एउटा चलचित्र थियो, कस्मीरमाथि उरी । यसमा सर्जिकर स्ट्राइक कसरी गर्‍यो भन्ने कुरा रोचक ढंगले देखाइन्छ । यसबाहेक फ्यामिली मूभीहरू रुचाउँछु । 

म यसबीचमा अफिस गएको छैन । यसअघि नै म कामबाट रिटायर्ड भइसकेकाले खासै गाह्रो भएको छैन । काम गर्नेहरूलाई त गाह्रो हुन्छ होला । 

युवाहरूलाई मोटिभेट गर्ने र कृषिकर्मीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामा नै म व्यस्त हुन्छ । यो पनि अनलाइन वा फोनबाट । जति गर्न सक्छु, त्यति त गर्न सकेको छैन, तर गरिरहेकै छु । 

परिवारमा हामी रमाइलो गरी बसिरहेका छौं । सामान्य खेलहरू खेल्छौँ । पोट्स, कार्ड्स, यस्तै हो । नातिनातिनीहरू अलि टाढा बस्छन् । निषेधाज्ञाले गर्दा उनीहरू आउन पाएका छैनन् ।

उनीहरूलाई मिस गरिरहेको छु । उनीहरू सानेपामा बस्छन्, हामी कालिमाटीमा । अहिले अधिकांश समय परिवारलाई नै दिने गरेको छु । 

सामाजिक सञ्जालमा त्यति बढी हैन कम नै समय दिन्छु । फेसबूक, ह्वाट्सएप, इमेलमा म्यासेजहरू आइरहन्छन्, त्यसलाई भने हेर्नुपर्ने हुन्छ । 

मलाई पकाउने, केही नयाँ काम गर्ने, रमाइलो गर्ने कुराहरूमा इन्ट्रेस्ट पनि छ । म यस्ता कामहरू गरिरहन मन पराउँछु । अघिल्लो लकडाउनमा मैले पकाउने काम धेरै गरें । तर अहिले भने समय अभाव भयो । एकपटक मात्रै पकाएर खुवाएको छु । 

म विषेश गरी २ काममा इन्जोय गर्छु । एउटा कूकिङ अर्को गार्डेनिङ । गार्डेनिङ भने यहाँ गर्ने वातावरण छैन । यो अपार्टमेन्ट बिल्डिङ भएकाले सम्भव भएन  । 

कोरोना संक्रमण मलाई पहिलो वेभमा नै भएको हो । तर त्यति गाह्रो भएन । सामान्य लक्षण देखिएको थियो । दोस्रो लहरमा छोरा र बुहारीलाई पनि संक्रमण भयो । अहिले निको भइसकेका छन् । 

दोस्रो लहरमै मैले करीब ३४/३५ वर्ष सँगै बसेको मेरो आफ्नो परिवारको सदस्य जस्तै साथीलाई गुमाएको छु । उहाँ स्वस्थ मानिस नै हुनुहुन्थ्यो, उमेर पनि बढी हैन ५५ भित्र नै हुनुहुन्थ्यो ।

करीब एक महिना अस्पतालमा उपचार गरेर पनि उनलाई बचाउन सकिएन । हामीले हार्‍यौँ । यसले मन निकै खल्लो बनाएको छ । म निकै मर्माहित छु । 

त्यसकारण म अहिले महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई सामान्य रूपमा नलिनका लागि सबैमा आग्रह गर्न चाहन्छु । निषेधाज्ञा भएपनि नभएपनि हामी घरबाहिर ननिस्कौं । 

जसरी हुन्छ भीडभाड कम गरौं ।  अहिले हामी नेपालीले कोही न कोही परिवार वा चिनजानकै मानिस गुमाएका छौं । त्यसकारण यसलाई कम नसोचौँ ।

खानपानमा बुझ्नै पर्ने कुरा, गाउँघरमा बस्नेहरूलाई संक्रमण भए पनि अप्ठ्यारो अलि बढी भएको छ । कुनै पनि रोग खानपानमै जोडिएको छ ।

यदि हाम्रो खानपान विषादी कम भएको र पौष्टिक छ भने हामीलाई कम असर गरेको छ । खानेकुराहरूमा नेपाली मसलाहरू प्रयोग गरेका छौं, ननभेज कम खाने या नखाने र रेडिमेड खानेकुरा कम खाने वा नखानेहरूमा कम असर गरेको बताइएको छ । त्यसकारण खानपानलाई विषेश ध्यान दिन म सबैलाई आग्रह गर्छु ।   

यस्तै, युवाहरूका लागि मेरो आग्रह छ, हामी सबैले नेपालमा उत्पादित वस्तुको प्रयोग गर्ने हो भने केही युवाले काम पाउँछन् वा उनीहरूले उत्पादन गरेको वस्तु बिक्री हुन्छ ।

यसो गरेमा धेरै रोजगारी वृद्धि हुन्छ । त्यसकारण विदेशी उत्पादनभन्दा पनि स्वदेशी उत्पादन रोजौं । नेपाली भएर नेपाली नै खाऔं, नेपाली नै लगाऔं ।

 


salt training

कमेन्ट गर्नुहोस्