०४ असार २०८३, बिहीबार
लकडाउन डायरी – भाग २

सतिशकुमार मोरको लकडाउन डायरी– घरमै बसे पनि व्यस्तता उस्तै, फुर्सद मिल्दा नातिसँग भुल्छन्

सतिशकुमार मोरको लकडाउन डायरी– घरमै बसे पनि व्यस्तता उस्तै, फुर्सद मिल्दा नातिसँग भुल्छन्

नेपालका एक प्रतिष्ठित उद्यमी हुन्, सतिशकुमार मोर । नेपाल उद्योग परिसंघका अध्यक्ष मोर यतिखेर निषेधाज्ञाका कारण घरमै छन् । कोरोनाभाइरस (कोभिड– १९)को महामारीका कारण लगाइएको निषेधाज्ञामा उनको दैनिकी फेरिएको छ ।

कहिलेकाहीँ उच्चस्तरीय छलफलका लागि भने उनी घरबाहिर निस्कन्छन् । प्रधानमन्त्री, मन्त्री वा सचिवहरूसँग छलफलका लागि बाहिर निस्कने गरेको उनले बताए ।

निषेधाज्ञाले अर्थतन्त्रलाई असर पारेको भएपनि घरमा बस्नुको आनन्द भने बेग्लै रहेको उनको अनुभव छ । ‘निषेधाज्ञाले आफैंलाई चिन्ने अवसर पनि दिएको छ,’ उनी भन्छन्, ‘परिवारसँग समय बिताउने स्वर्णिम अवसर पनि मिलेको छ ।’ 

प्रस्तुत छ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

मुलुकमा कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा लगाइएको छ । सो निषेधाज्ञाको शुरूदेखि नै अधिकांश समय म घरबाट नै काम गरिरहेको छु । अति नै आवश्यक परेको समयमा कुनै उच्चस्तरीय छलफलका लागि मात्रै म बाहिर निस्कने गरेको छु । 

म नेपाल उद्योग परिसंघको अध्यक्ष भएका कारण पनि घरमा त्यति धेरै फुर्सद मिलिसकेको छैन । यद्यपि केही फुर्सद भने निकाल्ने गरेको छु । फुर्सदको समयमा परिवारसँग रमाउने र नातिसँग हाँसखेल गरेर समय बिताइरहेको छु । कहिलेकाहीँ सञ्चार माध्यमहरूमा आएका समाचारहरू पनि हेर्ने गरेको छु । 

अहिलेको अवस्था एक हिसाबले परिवारसँग बस्ने एउटा अवसर पनि हो । सबै क्षेत्रलाई असर त परेको छ नै तर त्यसमै पनि अभ्यस्त हुनुपर्ने रहेछ । फुर्सदको समय म नेपाली तथा हिन्दी गीतहरू सुनेर बिताउँछु । गजलहरू पनि सुन्ने गरेको छु । बिहान मर्निङवाकको समयमा यस्तै गीतहरू सुनेर आनन्द लिने गरेको छु । 

म बिहान करीब ६ बजेसम्ममा उठिसक्छु । त्यसपछि आफ्नो दिनचर्याको काम शुरू गरेपछि ७ः३० बाट मर्निङवाक गर्छु । मर्निङ वाकमा मैले १ घन्टाको समय छुट्याएको छु  । यो एक घन्टापछि सामान्य योग अभ्यास गर्छु । त्यसपछि सामाजिक सञ्जाल अथवा पत्रपत्रिकाहरू हेर्ने अनि खाना खाने काम गरेर मेरो दैनिकी बितिरहेको छ । 

परिवारमा हाम्रो नियमित छलफल हुन्छ । सामाजिक सञ्जालहरूले ‘पेनिक’ गरेका जस्ता कुराहरू नै परिवारमा हुन्छ । हामी बाहिर निस्कँदा पनि स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्छौं । 

घरमा बसेपनि मैले मेरो कर्तव्य भुल्न हुँदैन । सीएनआईको अध्यक्ष भएको नाताले पनि विभिन्न क्षेत्रबाट फोनहरू आइरहन्छन् ।

म प्रायः फोन कलहरूमा व्यस्त नै हुन्छु । नेटहरूमा पनि अलिअलि व्यस्त नै हुन्छु । र सीएनआईका सदस्यहरूसँग सम्पर्कमा बस्ने, छलफल गर्ने सबै काम मैले मोबाइलबाट नै गर्छु । 

एउटा रमाइलो कुरा भनौं, मैले अहिलेसम्म पनि खाना बनाउने मौका पाएको छैन । राम्राराम्रा परिकारहरू म्याडमले बनाइहाल्नुहुन्छ । अन्य परिकारहरू बनाउन स्टाफहरू पनि छन् । अहिले म्याडम र म सँगै बसिरहेका छौँ, तपाईं र मेरो कुरा सुन्दै हुनुहुन्छ । अब सल्लाह भयो भने बनाइन्छ कि । (हाँस्दै...)

यस्तो समयमा एक्लै एक्लै बस्नुहुन्न भन्ने हाम्रो मान्यता छ । कोभिड– १९ रोग फैलिएको समयमा एक्लै बस्दा डिप्रेसनमा पर्ने डर हुन्छ । त्यसकारण हामी सधैं परिवारसँग खुलेर कुरा गर्ने, हाँसखेल गर्ने गर्छौं । साँझ पनि परिवारसँग रमाइलो कुराकानी हुन्छ । 

कोरोना महामारीबाट हरेक व्यक्ति समाज र राष्ट्रले नै पाठ सिक्न जरुरी छ । मैले जहाँ जाँदा पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्न थालेको छु । मास्क तथा स्यानिटाइजर लगाउने कुरा मैले अब बिर्सन हुँदैन र बिर्सन्न पनि । अब त बानी नै परिसक्यो । यस्तै कतै भीडभाडमा गइयो भने पनि वा जानुपर्ने छ भनेपनि मन झसंग हुन्छ ।

त्यसकारण हामीले कामलाई मात्र हैन आफ्नो स्वास्थ्यलाई पनि समय दिनुपर्छ भन्ने मुख्य कुरा महामारीले सिकाएको छ जस्तो लाग्छ ।

कोभिड महामारीको रूपमा आएको छ । यो नेपालमा मात्रै हैन, संसारमा आएको हो । नेपालमा जे जति हुनुपर्ने थियो, जे सिक्नुपर्ने थियो, त्यो सिकिएन जस्तो लाग्छ । मास्क, सामाजिक दूरी यस्ता मापदण्डहरू कडाईका साथ पालना गर्नुपर्ने देखिन्छ ।

अक्सिजनको व्यवस्था पनि सोही अनुरूप हुनुपर्ने देखिन्छ । यस्तै सरकारले पनि यसमा ध्यान दिनुपर्ने देखिन्छ । कोरोना खोपकै कुरा गर्दा पनि पहिलो डोज खोप लिएकाहरूका लागि दोस्रो डोज खोप अनिवार्य भएपनि अहिले त्यो उपलब्ध छैन ।

फेरि जनतालाई पनि खोप दिनका लागि के कति पहल भएको छ, पर्याप्त छ जस्तो लाग्दैन । हामीले सरकारसँग पनि यस्ता सुझावहरू राखिरहेका छौं । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मापदण्ड र खोपको विकल्प छैन भन्ने कुरा सरकारलाई हामीले ध्यानाकर्षण तथा सुझाव दिइरहेका छौं ।

salt training

कमेन्ट गर्नुहोस्