
नेपालका एक प्रतिष्ठित उद्यमी हुन्, सतिशकुमार मोर । नेपाल उद्योग परिसंघका अध्यक्ष मोर यतिखेर निषेधाज्ञाका कारण घरमै छन् । कोरोनाभाइरस (कोभिड– १९)को महामारीका कारण लगाइएको निषेधाज्ञामा उनको दैनिकी फेरिएको छ ।
कहिलेकाहीँ उच्चस्तरीय छलफलका लागि भने उनी घरबाहिर निस्कन्छन् । प्रधानमन्त्री, मन्त्री वा सचिवहरूसँग छलफलका लागि बाहिर निस्कने गरेको उनले बताए ।
निषेधाज्ञाले अर्थतन्त्रलाई असर पारेको भएपनि घरमा बस्नुको आनन्द भने बेग्लै रहेको उनको अनुभव छ । ‘निषेधाज्ञाले आफैंलाई चिन्ने अवसर पनि दिएको छ,’ उनी भन्छन्, ‘परिवारसँग समय बिताउने स्वर्णिम अवसर पनि मिलेको छ ।’
प्रस्तुत छ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :
मुलुकमा कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा लगाइएको छ । सो निषेधाज्ञाको शुरूदेखि नै अधिकांश समय म घरबाट नै काम गरिरहेको छु । अति नै आवश्यक परेको समयमा कुनै उच्चस्तरीय छलफलका लागि मात्रै म बाहिर निस्कने गरेको छु ।
म नेपाल उद्योग परिसंघको अध्यक्ष भएका कारण पनि घरमा त्यति धेरै फुर्सद मिलिसकेको छैन । यद्यपि केही फुर्सद भने निकाल्ने गरेको छु । फुर्सदको समयमा परिवारसँग रमाउने र नातिसँग हाँसखेल गरेर समय बिताइरहेको छु । कहिलेकाहीँ सञ्चार माध्यमहरूमा आएका समाचारहरू पनि हेर्ने गरेको छु ।
अहिलेको अवस्था एक हिसाबले परिवारसँग बस्ने एउटा अवसर पनि हो । सबै क्षेत्रलाई असर त परेको छ नै तर त्यसमै पनि अभ्यस्त हुनुपर्ने रहेछ । फुर्सदको समय म नेपाली तथा हिन्दी गीतहरू सुनेर बिताउँछु । गजलहरू पनि सुन्ने गरेको छु । बिहान मर्निङवाकको समयमा यस्तै गीतहरू सुनेर आनन्द लिने गरेको छु ।
म बिहान करीब ६ बजेसम्ममा उठिसक्छु । त्यसपछि आफ्नो दिनचर्याको काम शुरू गरेपछि ७ः३० बाट मर्निङवाक गर्छु । मर्निङ वाकमा मैले १ घन्टाको समय छुट्याएको छु । यो एक घन्टापछि सामान्य योग अभ्यास गर्छु । त्यसपछि सामाजिक सञ्जाल अथवा पत्रपत्रिकाहरू हेर्ने अनि खाना खाने काम गरेर मेरो दैनिकी बितिरहेको छ ।
परिवारमा हाम्रो नियमित छलफल हुन्छ । सामाजिक सञ्जालहरूले ‘पेनिक’ गरेका जस्ता कुराहरू नै परिवारमा हुन्छ । हामी बाहिर निस्कँदा पनि स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्छौं ।
घरमा बसेपनि मैले मेरो कर्तव्य भुल्न हुँदैन । सीएनआईको अध्यक्ष भएको नाताले पनि विभिन्न क्षेत्रबाट फोनहरू आइरहन्छन् ।
म प्रायः फोन कलहरूमा व्यस्त नै हुन्छु । नेटहरूमा पनि अलिअलि व्यस्त नै हुन्छु । र सीएनआईका सदस्यहरूसँग सम्पर्कमा बस्ने, छलफल गर्ने सबै काम मैले मोबाइलबाट नै गर्छु ।
एउटा रमाइलो कुरा भनौं, मैले अहिलेसम्म पनि खाना बनाउने मौका पाएको छैन । राम्राराम्रा परिकारहरू म्याडमले बनाइहाल्नुहुन्छ । अन्य परिकारहरू बनाउन स्टाफहरू पनि छन् । अहिले म्याडम र म सँगै बसिरहेका छौँ, तपाईं र मेरो कुरा सुन्दै हुनुहुन्छ । अब सल्लाह भयो भने बनाइन्छ कि । (हाँस्दै...)
यस्तो समयमा एक्लै एक्लै बस्नुहुन्न भन्ने हाम्रो मान्यता छ । कोभिड– १९ रोग फैलिएको समयमा एक्लै बस्दा डिप्रेसनमा पर्ने डर हुन्छ । त्यसकारण हामी सधैं परिवारसँग खुलेर कुरा गर्ने, हाँसखेल गर्ने गर्छौं । साँझ पनि परिवारसँग रमाइलो कुराकानी हुन्छ ।
कोरोना महामारीबाट हरेक व्यक्ति समाज र राष्ट्रले नै पाठ सिक्न जरुरी छ । मैले जहाँ जाँदा पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्न थालेको छु । मास्क तथा स्यानिटाइजर लगाउने कुरा मैले अब बिर्सन हुँदैन र बिर्सन्न पनि । अब त बानी नै परिसक्यो । यस्तै कतै भीडभाडमा गइयो भने पनि वा जानुपर्ने छ भनेपनि मन झसंग हुन्छ ।
त्यसकारण हामीले कामलाई मात्र हैन आफ्नो स्वास्थ्यलाई पनि समय दिनुपर्छ भन्ने मुख्य कुरा महामारीले सिकाएको छ जस्तो लाग्छ ।
कोभिड महामारीको रूपमा आएको छ । यो नेपालमा मात्रै हैन, संसारमा आएको हो । नेपालमा जे जति हुनुपर्ने थियो, जे सिक्नुपर्ने थियो, त्यो सिकिएन जस्तो लाग्छ । मास्क, सामाजिक दूरी यस्ता मापदण्डहरू कडाईका साथ पालना गर्नुपर्ने देखिन्छ ।
अक्सिजनको व्यवस्था पनि सोही अनुरूप हुनुपर्ने देखिन्छ । यस्तै सरकारले पनि यसमा ध्यान दिनुपर्ने देखिन्छ । कोरोना खोपकै कुरा गर्दा पनि पहिलो डोज खोप लिएकाहरूका लागि दोस्रो डोज खोप अनिवार्य भएपनि अहिले त्यो उपलब्ध छैन ।
फेरि जनतालाई पनि खोप दिनका लागि के कति पहल भएको छ, पर्याप्त छ जस्तो लाग्दैन । हामीले सरकारसँग पनि यस्ता सुझावहरू राखिरहेका छौं । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मापदण्ड र खोपको विकल्प छैन भन्ने कुरा सरकारलाई हामीले ध्यानाकर्षण तथा सुझाव दिइरहेका छौं ।