
‘म पहिला–पहिला वर्षको २ पटकसम्म रुघाखोकीबाट ग्रस्त हुन्थेँ, तर अहिले मलाई रुघाखोकी नै लागेको छैन । कोरोना आएपछि हामीले स्वास्थ्यमा निकै ध्यान दिन थालेका रहेछौं । दिनुपर्ने नै रहेछ,’ नेपाल च्येम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले कुराकानीको शुरूमा भने ।
सामान्यतया उनी निकै व्यस्त हुने मध्येका एक प्रतिष्ठित उद्यमी हुन् । अहिले निषेधाज्ञाका कारण घरमै बस्दा पनि व्यस्त जीवनशैलीलाई भुल्न नसकेको उनी बताउँछन् ।
नेपाल च्येम्बर अफ कमर्सका उपाध्यक्ष एवं आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रासँग ‘लकडाउन डायरी’का लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, मल्होत्रासँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमाः
अहिले अधिकांश समय म घरमै बसेको छु । कसैसँगको भेटघाट, अनावश्यक बाहिर निस्कने जस्ता कामहरूबाट म टाढै छु ।
अहिले कोरोना महामारीको अवस्था डरलाग्दो नै छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मान्नैपर्छ ।
केही समय भने हामीले राहतसँग सम्बन्धित कुराहरू कहिलेकाहीँ जूम मिटिङमा नै गर्छौं । कतिपय भने भौतिक उपस्थितिमा नै काम गर्नुपर्ने अवस्था हुन्छ, कहिलेकाहीँ त्यता निस्कनुपर्ने हुन्छ । नत्र अधिकांश समय घरमा नै हुन्छु ।
म घरमा बस्दा पनि अधिकांश समय त जूम मिटिङमा व्यस्त भइरहेको हुन्छु । घरमा बस्दा समय बिताउन नसकेर बोरिङ हुने, के गर्ने, कसो गर्ने भन्ने भएको छैन ।
बिहान एक घन्टा मैले नियमित एक्सरसाइज गर्ने गरेको छु । त्यस्तै बेलुकी पनि एक घन्टा एक्सरसाइज नै गर्ने गरेको छु ।
निषेधाज्ञाको अहिलेको समयमा एक्सरसाइज पनि महत्त्वपूर्ण कुरा हो । दिनको २ घन्टा त यसमै बित्छ । त्यसपछि नियमित कामहरू गर्ने गरेको छु ।
कतिपय पेन्डिङ कामहरू पनि गरिरहेको छु । पहिला निकै व्यस्त हुँदा गर्न नभ्याएका कामहरू अहिले गर्दैछु । त्यसकारण मलाई अहिले लाग्छ कि, समयको सबैभन्दा बढी सदुपयोग मैले नै अहिले गरिरहेको छु ।
घरमा म पूरै दिन परिवारसँग नै हुन्छु । अहिलेको यस परिस्थितिमा घरमा परिवारसँग रमाइलो गर्ने अवसर पनि छ ।
परिवारसँग अहिले मेरो बिल्कुलै नयाँ कुरामा सल्लाह भइरहेको छ । निषेधाज्ञाअगाडि व्यस्तताका कारण यो विषयमा सल्लाह गर्न भ्याएको थिइन ।
सल्लाहकै कुरा गर्दा अलिकति जग्गा थपेका छौं । घरलाई केही मोडिफाइ गर्ने कि वा कसरी प्रयोग गर्ने भन्ने विषयमा परिवारका सबैजना मिलेर छलफल गर्ने गरेका छौं ।
इञ्जिनीयरसँग पनि जूममा नै कुरा भइरहेको हुन्छ । यो काम आजको आजै गर्ने भन्ने हुँदैन, केही समय लाग्छ । सल्लाह त गर्नुपर्यो नि !
यसबाहेक नातिनातिनाहरू घरमै छन् । उनीहरूसँग खेल्ने, रमाइलो गर्ने गरिरहेको छु । निषेधाज्ञा धेरै नै लम्बियो भने त के हुन्छ, कसो हुन्छ, अर्थतन्त्र कहाँ पुग्छ थाहा छैन । तर अहिले घरमा बस्दा रमाइलो गरेर नै समय बिताइन्छ ।
अन्य समयमा आइतवारदेखि शुक्रवार साँझसम्म परिवारलाई समय दिनै भ्याइन्न थियो । बाँकी एक दिन शनिवार पनि कहिलेकाहीँ त मिटिङतिरै निस्कनुपर्थ्यो । तर अहिले त घरभित्रै छौं । परिवारलाई दिने समय पर्याप्त छ ।
घरमा बस्दा मोबाइल, इन्टरनेटमा धेरै नै व्यस्त भइरहने बानी हुँदो रहेछ । मैले यसलाई सकेसम्मको कन्ट्रोल त गरेको छु ।
पहिला बिहान अखबार पढिन्थ्यो, रेडियो सुनिन्थ्यो । तर अहिले छिनछिनमा मोबाइल हेरिरहिनेरहेछ । साँझ बिहान गरेर पनि कम्तिमा पनि २ घन्टा मेरो समय फेसबूक, ह्वाट्सएपमा बित्ने रहेछ ।
फेसबूक र म्यासेन्जर मैले सधैं बन्द गरेर राख्छु । म्यासेन्जर अन गर्यो भने टिङटिङ दिनभरी नै आइरहेको हुन्छ । मेरो त काम नै त्यसमै हुन्छ फेरि, अनि अरू कहिले गर्नु ।
पकाउने बानी ममा छैन । मैले आजसम्म खाना पकाएको छैन । आउँदैन जस्तो लाग्छ । तर समयसमयमा चिया बनाउँछु । अण्डाका परिकार, अम्लेट जस्ता कुराहरू बनाइरहेको हुन्छु ।
निषेधाज्ञामा काठमाडौं सफा हुने रहेछ । अस्तिसम्म कति धेरै प्रदुषण थियो काठमाडौं, तर अहिले अलि सफा हुँदा यस्तै सफा भइरहे पनि हुन्थ्यो भन्ने लाग्ने रहेछ ।
कोरोनापछि वातावरण प्रदुषण कम भएको जस्तो लाग्छ । तर अर्कातिर अर्थतन्त्र पनि उस्तै ओरालो लागेको छ ।
कोरोनाले सबैभन्दा बढी स्वास्थ्यमा केयर गर्न सिकाउने रहेछ । कोरोना आउनुभन्दा अगाडि मलाई वर्षमा २ पटक रुघाखोकी लाग्थ्यो नै । तर अहिले मलाई रुघाखोकी लागेको छैन । यो सब कारण एउटै हो, स्वास्थ्यलाई बढी ध्यान ।
मास्क, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडबाट टाढै रहने, नियमित शारीरिक अभ्यास गर्ने गरेपछि स्वास्थ्य स्वस्थ रहने भयो । अन्य रोगहरू लाग्न निकै कमी भयो । कोरोनाले सिकाएको मूल पाठ नै यही हो ।
(कुराकानीमा आधारित)