
नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
लामो समय मौन जस्तै रहेका विष्टले झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा ओलीको आलोचना गरेका हुन् ।
ओलीहरूले आफूहरूको समूहमा कन्म्फुजन गराउन खोजेको पनि विष्टले आरोप लगाए ।
‘केपी ओलीको वार्ता टीमले हामीमाथि प्ले गर्न खोजेका छन् । हामीभित्र कन्फ्युजन निर्माण गर्न खोजिएको छ,’ विष्टको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
राष्ट्रिय स्वार्थ बिर्सेर ओली विदेशी रिझाउन लागिपरेको विष्टले आरोप लगाए ।
‘पार्टीको विधि र विधान मिचेर ओलीले पार्टीलाई ध्वस्त बनाउँदैछन्, देशीविदेशी तत्वले एमालेलाई सिध्याउन केपी ओलीलाई प्रयोग गरेका छन्,’ विष्टको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘अन्तिमसम्म पार्टी एकताका लागि पहल गर्ने हो, भएन भने हामी आफ्नो बाटो लाग्ने हो ।’
विष्ट लगायत सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई संस्थापन पक्षका नेताहरूसँग निरन्तर सम्वादमा छन् ।
पाण्डे र भुसालले हिजोको बैठकमा ओली पक्षसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । केन्द्रीय सदस्यहरूको सुझावका आधारमा अगाडि बढ्ने नेता नेपालले बताएका छन् ।