
पोखरीमा नुहाउन गएकी १ बालिकाको डुबेर मृत्यु भएको छ ।
सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी ५ वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरनजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोस्टमार्टम भएको छ ।
यसैबीच, सवारी दुर्घटनामा घाइते भएका सप्तरीको खडक नगरपालिका–८ ढोलबजा बस्ने बौवालाल चौधरीको छोरा २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका–८ पहाडे भदैया चोकस्थित बोदेबर्साईन–बिसनपुर भित्री सडक खण्डमा सोमवार राति १० बजे भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
बिसनपुर चोकबाट बोदेबर्साईन बजारतर्फ जाँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकललाई स१त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।
घाइते चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको मोबाईल गाडीमा राखी उपचारका लागि रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पठाइएको थियो ।
ठक्कर दिने ट्याक्टरलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले बताए ।