२६ असार २०८३, शुक्रबार
प्राकृति विपद्

सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ।

सिनो हाइड्रो परियोजनामा कार्यरत रहेका नेपाली, चिनियाँ र भारतीय नागरिकसहित एकै स्थानबाट कुल ३७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको उनले बताए।

‘अहिलेसम्म ७ जना बेपत्ता भएको कुरा आएको छ, त्यसमध्ये पनि बाढीले नै बगाएर बेपत्ता भएको हो वा आफन्तकोमा गएकाले सम्पर्क नभएको हो भन्ने पुष्टि हुन बाँकी नै छ,’ सीडीओ पोखरेलले भने, ‘बाहिर सयौं मानिस बेपत्ता भएको भनेर चलाइएको हल्ला निराधार हल्ला हो, हामीलाई आएको खबरअनुसार जम्मा ७ जना मात्र बेपत्ता भएका छन् ।’

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ घर भएका १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल लगायत छन् ।

उद्धार गरिएकामध्ये बाँकी मानिसलाई नेपाली सेनाको गण तथा रेडक्रससहित माथिको स्थानमा सुरक्षित राखिएको उनले बताए। बाढीमा के कति भौतिक तथा मानवीय क्षति भयो भन्ने विषयमा अहिले तथ्यांक संकलन नै भइरहेको हुनाले एकिन भन्न नसकिने उनले बताए ।

 ‘पहिलो प्राथमिकता बाढीमा फसेका मानिसलाई उद्धार गर्नु हो, त्यसमा नै अहिलेसम्म केन्द्रित भएका छौं,’ उनले भने, ‘त्यसपछि उहाँहरूलाई औषधि, खाना, पानीसहितको व्यवस्थापनमा लागेका छौं।’

आज राहतस्वरूप खाद्यान्न सामग्री रेडक्रस तथा स्थानीय तहले नै वितरण गरिरहेका छन् । ‘भोलिदेखि खाद्यान्न सामग्रीको व्यवस्थापन हामीले गर्छौं,’ उनले भने, ‘आज राति बास बस्नका लागि पाल, टेन्टआदिको व्यवस्थापनमा पनि लागेका छौं।’

अहिलेसम्म एक जना पुरुषको शव भेटिए पनि सनाखत हुन नसकेको उनले बताए।

मेलम्ची खानेपानी आयोजनाको मूल मुहानमा के कति असर गरेको भन्ने कुरा समेत एकिन हुन सकेको छैन।

‘त्यहाँसम्म अहिले कुनै मानिस पुग्न नै सकेको छैन, त्यहाँसम्म जाने बाटोमा पर्ने सबै पुलहरू बगेको हुनाले त्यहाँसम्म पुग्न सकिएको छैन,’ उनले भने, ‘त्यहाँ पुगेपछि मात्र खानेपानी आयोजनामा के कति क्षति भएको कुरा खुल्न सक्छ।

salt training

कमेन्ट गर्नुहोस्