०१ साउन २०८३, शुक्रबार

हचुवामा जोर/बिजोर : १५ लाख गाडी चल्दा संक्रमण बढ्ने, साढे ७ लाख चल्दा नबढ्ने ?

जिल्ला प्रशासनहरूसँग न तथ्यांक छ, न त कुनै आधार !
असार ७, २०७८
हचुवामा जोर/बिजोर : १५ लाख गाडी चल्दा संक्रमण बढ्ने, साढे ७ लाख चल्दा नबढ्ने ?
सांकेतिक तस्वीर

असार ८ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा जोर/बिजोरका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं उपत्यका अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

‘निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा ४ जना), ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल स्कूटीमा २ जना मात्र सवार भएर जोर/बिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली एकैचोटी सबै सवारी साधन सञ्चालन गर्न दियो भने एकदिनमा नै १३ लाख गाडी सडकमा कुदेपछि भीडभाड बढ्ने हुनाले जोर बिजोर प्रणाली लागू गरिएको बताउँछन् ।

‘कोरोना संक्रमण हुने दर घटेको छ, कोरोना संक्रमणका कारण मृत्यु हुने दर घटेको छ, कोरोना संक्रमित भएर निको हुने दर बढेको तथ्यांकको आधारमा निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने रणनीतिअनुसार निषेधाज्ञालाई खुकुलो बनाइएको छ,’ पराजुलीले भने, ‘एकैचोटि सबै सवारी साधन सञ्चालन गर्न दिएको अवस्थामा भीड बढ्ने र कोरोना फेरि पनि विस्फोट हुन सक्ने भएकाले जोर/ बिजोर प्रणाली लागू गरिएको हो।’

शुरूको दिनमा संक्रमणको दर धेरै भएको तथा मृत्युदर समेत बढी भएकाले निषेधाज्ञा लगाइएको र अहिले त्यो दर कम हुँदै गएपछि निषेधाज्ञा क्रमशः खुकुलो पारिएको उनले बताए।

तर, आधा सवारी साधन एक दिनमा सडकमा निस्किँदा पनि भीडभाड हुँदै भन्ने ठोस आधार देखिँदैन ।

आधा गाडी सञ्चालन भए कोरोना संक्रमण नफैलिने र सबै सवारी साधन सञ्चालन भए मात्र कोरोना संक्रमण फैलिने भन्ने मात्र हुँदैन होला नि भन्ने लोकान्तरको प्रश्नमा पराजुलीले भने, ‘स्वास्थ्यको मापदण्ड पालना गरेर अत्यावश्यक काम परे मात्र सडकमा निस्किन पनि भनेका छौं, अनावश्यक रूपमा काम नपरे ननिस्किन पनि भनेका छौं नि !’

सवारी साधन निस्किएर फेरि पनि कोरोना संक्रमणको दर बढ्यो भने पुन: कडाइ गरिने उनले बताए ।

निषेधाज्ञा लगाएको लामो समय (५४) दिन भएकाले केही खुकुलो बनाइएको उनको भनाइ छ ।

जोर नम्बरका कति संख्यामा तथा बिजोर नम्बरका कति संख्यामा सवारी साधन उपत्यकामा कुद्छन् भन्ने यकिन तथ्यांक प्रशासनसँग छैन ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई पनि उक्त संख्या कति छ भन्ने कुराको तथ्यांक नरहेको बताउँछन् ।

‘काठमाडौं उपत्यकामा १५ लाख सवारी सधान दर्ता भएका छन्, त्यस आधारमा साढे ७ लाख जोर तथा सोही संख्यामा बिजोर नम्बरका गाडी होलान्,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘त्यसमा पनि निजी कति र सार्वजनिक कति संख्या छन् भन्ने कुराको पनि कुनै तथ्यांक ट्राफिक प्रहरीसँग छैन।’

पछिल्लो ५४ दिनदेखि निषेधाज्ञा लागेको अवस्थासम्म एक दिनमा कति सवारी साधन सञ्चालन भए भन्ने कुराको समेत कुनै तथ्यांक नरहेको उनले बताए ।

जोर तथा बिजोर नम्बरसहित निजी तथा सार्वजनिक सवारी साधनको संख्या पता लगाउनका लागि यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसाललाई पटक/पटक लोकान्तरले फोन गर्दा पनि सम्पर्क हुन सकेन ।   

salt training

कमेन्ट गर्नुहोस्