
आफ्नै पार्टीका तीन सांसदले साथ छाडेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएर सरकार जोगाएका थिए । तर, आज जसपाबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले राजीनामा गरेपछि मुख्यमन्त्री पोखरेललाई फेरि ठूलो झड्का लागेको छ।
भौतिक पूर्वाधार राज्यमन्त्री रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा उपेन्द्र यादव पक्षमा लागेकी छन् । यसले फेरि लुम्बिनी सरकारमा हलचल मच्चिएको छ ।
उनी वैशाख १९ मा सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको दुई महिनापछि राजीनामा दिएर यादव पक्षमा लागेपछि पोखरेल सरकार स्पष्ट अल्पमतमा परेको छ ।
जसपा (यादव पक्ष) का संसदीय दलका नेता सहस्रराम यादवले रायमाझी पुरानै ठाउँमा फर्किएको बताए । उनले लोकान्तरसँग भने, ‘हाम्रो पार्टीको माननीयज्यू बीचमा केही समय हड्बडाउनु भयो । पार्टीले कारबाही पनि गर्यो अहिले बुझेर पुरानै ठाउँमा फर्किनुभयो ।’
६ सांसद रहेको जसपाका महन्थ ठाकुर पक्षका चार जना सरकारमा सहभागी थिए । जसपा नेता मोहम्मद इस्तियाक राईले अन्य मन्त्रीहरू पनि आफूहरूसँग आउनेबारे छलफल भइरहेको बताए ।
यसले प्रदेश सरकारको बजेट असफल हुने संकेत देखिएको छ । विपक्षी गठबन्धनले बजेट असफल गराउने रणनीति बनाएको छ । असार १ गते ल्याएको बजेटमाथि विवादका कारण छलफल हुन सकेको छैन ।
भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वन मन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव सरकारमै छन् ।
८३ सदस्य प्रदेशसभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा तीन जना गरी अब ४१ जना सांसद भए । प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक हुन्छ ।
विपक्षी गठबन्धनले पहिलेदेखि नै प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै आएको थियो । अझै लुम्बिनीमा माधव नेपाल पक्षमा दुई सांसद छन् ।
नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मन्त्रीको राजीनामा आएको भन्ने सुनेको बताए । ढकालले भने, ‘राजीनामा आयो भन्ने सुनियो । के हो अरू विषयमा बुझ्न पाइएको छैन ।’
माओवादी केन्द्रले सरकार छाडेपछि वैशाख १९ गते पोखरेलले राजीनामा दिएर पुनः विपक्षीको विरोधका बीच प्रदेश प्रमुखलाई आफ्नै कार्यकक्षमा लगेर शपथ लिएका थिए ।
एमाले कपिलवस्तुका सांसद दीर्घनारायण पाण्डे, दाङका अमरबहादुर डाँगी र दाङकै नेकपाबाट निर्वाचित सांसद विमला वलीले मुख्यमन्त्री पोखरेलको साथ छाडेका थिए । पाण्डे कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् । त्यस्तै डाँगीले राजीनामा दिएका छन् भने वली माओवादी केन्द्रमा लागेकी छन् ।
कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खाँनले अल्पमतमा भए एक मिनेट पनि सत्तामा बस्दिनँ भनेका मुख्यमन्त्रीले अब सत्ता चलाउने वैधता गुमाएको बताए । ‘उहाँको राजीनामा हामी कुरेर बसेका छौं,’ उनले भने, ‘विपक्षी गठबन्धन अब छलफल र तयारीमा छन् । हामीले पहिलेदेखि भन्दै आएको कुरा पुष्टि भयो ।’