
चीनको दक्षिणपश्चिम भागमा रहेको बाइहटान हाइड्रोपावर स्टेसन संसारको सबभन्दा ठूलो र प्राविधिक रूपमा कठिन हाइड्रो परियोजना हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको सय वर्ष मनाइरहेको अवसरमा सोमवारदेखि परियोजना सञ्चालनमा आएको छ ।
यो स्टेसन यांग्त्से नदीको माथिल्लो भागमा रहेको जिन्शा नदीमा रहेको छ । यसको लागत मूल्य २२० अर्ब युआन हो । यो पूरा भएपछि थ्री गर्जेज ड्यामपछिको दोस्रो सबभन्दा विशाल हाइड्रोपावर परियोजना हुनेछ ।
सन् २०१७ देखि बाइहटान बाँध परियोजनाको निर्माण थालिएको थियो । परियोजनाले निकै कठिन प्राविधिक चुनौती खेप्नुपरेको थियो । त्यसक्रममा यसले अनेकौं विश्व कीर्तिमान तोडेको थियो । विशाल भूमिगत गुफाहरू, ३०० मिटर
बाँधको सबभन्दा ठूलो भूकम्पप्रतिरोधी प्यारामिटर तथा विशालतम स्पिलवे केभर्नहरू बनाइएको छ ।
थ्री गर्जेज बाँधको निर्माणपछि चीनको जलविद्युत् उद्योग द्रुत गतिमा अघि बढिरहेको छ । चीन दिगो ऊर्जाको सवालमा पछौटेबाट विश्वमै अग्रणी भूमिकामा आइसकेको छ ।
बाइहटान हाइड्रोपावर स्टेसन सञ्चालनमा आउन थाल्नु चीनको जलविद्युत् परियोजनाको कोशेढुंगा हो । सबभन्दा महत्त्वपूर्ण कुरा, यसले जलस्रोत व्यवस्थापन तथा जलविद्युत् इन्जिनीयरिङमा आवश्यक प्रविधि चीनले हासिल गरिसकेको साबित भएको छ ।
यो हाइड्रोपावर स्टेसन सिचुआन र युन्नान प्रान्तहरूको सीमामा अवस्थित छ । यसका १६ वटा उत्पादन इकाइहरू प्रत्येकले १० लाख किलोवाट विद्युत् उत्पादन गर्न सक्छन् । एक करोड ६० लाख किलोवाट विद्युत् उत्पादन गर्न सक्ने संसारकै सबभन्दा विशाल एकल इकाइ क्षमता भएको जलविद्युत् परियोजना यही हो ।
यसका प्रत्येक उत्पादक इकाइहरू ५० मिटरभन्दा अग्ला छन् र तिनको तौल ८ हजार टनभन्दा बढी छ । यिनको प्रभावकारिता लगभग ९९ प्रतिशत छ ।
‘बाइहटान हाइड्रोपावर स्टेसनका प्रथम दुई उत्पादक इकाइहरूले चीनको जलविद्युत् उत्पादन इकाइ क्षमतामा विकास भएर १० लाख किलोवाट पुगेको साबित गरेका छन् । यो विश्वको जलविद्युत् उद्योगको सगरमाथा हो,’ बाइहटान हाइड्रोपावर स्टेसनको इन्जिनीयरिङ तथा निर्माण विभागका उपनिर्देशक ह वेले बताए ।
विगतमा चीनले थ्री गर्जेज बाँध निर्माणका लागि विदेशबाट विज्ञान तथा प्रविधिको सिको गरेको उनले बताए । तर बाइहटान परियोजना केही देशले प्राविधिक रूपमा एक्ल्याउने तथा आपूर्ति सामग्रीको बढ्दो मूल्यका बावजूद चीनले पूर्ण स्वतन्त्र रूपमा स्वतन्त्र नवप्रवर्तन गरेको हो ।
बाँधको बाढी नियन्त्रण क्षमता ७.५ अर्ब क्युबिक मिटर छ । बाइहटान बाँध पूर्ण निर्माण भइसकेपछि यांग्त्से नदी किनारका शहरहरूमा बाढी पस्ने समस्याको समाधान गर्न सकिनेछ ।
‘यांग्त्से नदीलाई मानिसले सदुपयोग गर्न सकिरहेका थिएनन् तर अहिले यो नदी राम्रो जलस्रोत बनेको छ,’ हले बताए ।
बाइहटान बाँधमा हजारौं सेन्सरहरू जडान गरिएका छन् जसले तापक्रम लगायतका महत्त्वपूर्ण जानकारीको मापन गर्न सक्छन् । यसरी संकल गरिएको सूचनालाई तत्कालै स्टेसनको इन्टेलिजेन्ट कन्स्ट्रक्सन म्यानेजमेन्ट प्ल्याटफर्म
आईड्याममा पठाउन मिल्छ । यसले गर्दा परियोजनाका विविध प्यारामिटरहरूको सही नियन्त्रण तथा मिलान गर्न सहज हुन्छ । यसरी बाइहटान संसारको सबभन्दा इन्टेलिजेन्ट बाँध बनेको छ ।