
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा नेता रावलसँग ओलीले छलफल गरेको एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग भेटवार्ताका लागि अनिच्छा देखाएपछि ओलीले भीम रावललाई बालुवाटार बोलाएर आइतबार राति छलफल गरेका हुन् ।
एमालेका ओली निकटका दोस्रो तहका नेताहरुले आइतबार बिहान नेता नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए। उनीहरुले एक पटक ओलीसँग भेटवार्ता गर्नका लागि आग्रह गरेपनि त्यसप्रति नेता नेपालले चासो देखाएका थिएनन् ।
एमालेका नेपाल समूहका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा विघटन बदरको माग राखी सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। ओली समूहले उक्त हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा लाग्नुपर्ने भन्दै आएपनि नेपालले कुनै हालतमा हस्ताक्षर फिर्ता हुन नसक्ने स्पष्ट पार्दै आएका छन् । सर्वोच्चको फैसलाको दिन नजिकिँदै गर्दा ओलीले हस्ताक्षर फिर्ताको एजेण्डालाई जोडतोडले उठाएका छन् ।
यसैबीच नेता नेपालसँगको आजको भेटपछि नेकपा एमालेका उपमहासचिव समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसंगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताए ।
उनले भने, ‘माधव कमरेडको मा गएका थियौ । म सुवास जी र शंकर जी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसंग छलफलमा छौ । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौ । भनेर हामीले प्रस्ताव राख्यौ ।उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन । ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौ ।’