२२ असार २०८३, सोमबार

‘मेक इन नेपाल – स्वदेशी’ अभियानको कार्यान्वयन शुरू

‘मेक इन नेपाल – स्वदेशी’ अभियानको कार्यान्वयन शुरू

स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयन शुरू भएको छ।

नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपीवेब पोर्टल तयार गरी सञ्चालनमा ल्याएको हो ।

यो अभियानमा आवद्ध हुन चाहने स्वदेशी उद्योग/व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पुरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउने छ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत् नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको परिसंघले जनाएको छ ।

यो अभियानअन्तर्गत वार्षिक १हजार उद्योग दर्ता, कूल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पुर्‍याउने, वार्षिक १ हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा ४ अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ।

‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल - स्वदेशीको लक्ष्य हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, ‘यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोगबढाउने लक्ष्य राखेको छ।‘

यो अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गरेका थिए । यस अभियान कार्यान्वयनका लागि यही असार १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परिसंघबीच समझदारीमा हस्ताक्षर भइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्