०८ असार २०८३, सोमबार

खेलाडी कल्याणकारी कोषले गर्‍यो उपचार खर्च सहयोग

खेलाडी कल्याणकारी कोषले गर्‍यो उपचार खर्च सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सहयोग स्वरूप सोमवार उपचार खर्च उपलब्ध गराएको छ ।

४ खेलाडीलाई २ लाख ९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी गराए ।

ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार रुपैयाँ प्रदान गरिएको छ ।

जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ उपलब्ध गराइएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरिएको छ । खेलाडी संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

चालू आर्थिक वर्षमा कोषले यी ४ खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चबापत जम्मा ११ लाख ३४ हजार ६५५ रुपैयाँ वितरण गरिसकेको छ ।

यसअघि विभिन्न ५ खेलका खेलाडी र पूर्व खेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।

२०६८ सालमा १ करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा १ करोड ४० लाख रुपैयाँ रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिए । त्यसैको ब्याजबाट मर्कामा परेका खेलाडीलाई सहयोग गरिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्