
कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मूर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ ।
यसअघि वर्मामा कनकमणिको मूर्ति छ । कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेलले शनिवार दुई मूर्तिको अनावरण गरे ।
गोटिहवा कपिलवस्तुको तौलिहवादेखि चार किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ । गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थल हो ।
बौद्ध ग्रन्थहरूमा यसको प्राचीन नाम क्षेमावती नगरको रुपमा उल्लेख गरिएको छ । सम्राट अशोकले इशा पूर्वको तेस्रो शताब्दीमा तीर्थाटनका लागि गोटिहवा आएका थिए । उनले आफ्नो यात्राका क्रममा उक्त स्थापनमा ढुंगाको स्तम्भ खडा गराई क्रकुच्छन्द बुद्धको स्तूपलाई पुनर्निर्माण गर्न लगाएका थिए ।
यहाँ माथिल्लो भाग भाँचिएर हराएकोले अशोक स्तम्भको तल्लो भाग मात्र खडा छ । यो स्तम्भ भारतीय पुरातत्व सर्वेक्षणका पुरातात्विक सर्भेयर डा. फुहररले सन् १८९५ मा पत्ता लगाएका थिए ।
सन् १८९९ मा डा. वाडेलले स्तूपको उत्खनन गरेका थिए । यो ठाउँमा १९९४ देखि १९९८ सम्म पुरातत्व विभाग लुम्बिनी विकास कोष र इटालियन पुरातत्त्वविद्को टोलीले उत्खनन गरी महत्त्वपूर्ण तत्वहरु बाहिर ल्याएका थिए ।
त्यस्तै कनकमणि बुद्ध निग्लिहवा कनकमणि बुद्धको जन्मस्थलको प्राचीन नाम शोभावती थियो । यो स्थल तौलिहवाबाट नजिकै पर्छ ।
सम्राट अशोक बुद्ध स्थलको तीर्थाटनको क्रममा लुम्बिनी पछि निग्लिहवा आएका थिए । उनले आफूले भ्रमण गरेको चिनो स्वरुप स्तम्भ ठड्याई त्यसमा बाह्रमी लिपिमा उल्लेख गरेका छन् ।
स्तम्भ भाँचिएर दुई टुक्रा भएको छ । स्तम्भमा कुँदिएको अशोकको लिपिले कनकमुनि बुद्धको जन्म यहाँ भएको प्रमाणित गरेको छ ।
राजा रिपु मल्लले स्तम्भको माथिल्लो भागमा शिलालेख कुँदेका छन् । यो स्तम्भको सर्वेक्षण गर्न भुरातात्विक सर्भेयर डा. फूहररले १८९५मा पत्ता लगाएका थिए । कनकमणि बुद्धको प्रतिमा १६ लाख ५० हजारमा निर्माण गरिएको हो ।
मूर्ति साढे ६ फिटको रहेको छ । त्यस्तै सोही ठाउँको बगैँचा निर्माणको लागि उद्योग वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशले ४१ लाख ५० हजार खर्चिएको छ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पर्यटकीय क्षेत्रको विकासमा ऐतिहासिक दिन रहेको बताए । आगामी दिनमा कपिलवस्तुका सम्पदास्थलको थप उत्खनन हुने उनले उल्लेख गरे ।
भविष्यमा कपिलवस्तुको थप महत्त्व र गरिमा बढ्ने आशा मुख्यमन्त्रीले व्यक्त गरे । पोखरेलले कपिलवस्तु पर्यटकीय र ध्यानको गन्तव्यका रुपमा विकास हुने बताए ।
त्यसका लागि स्थानीयको पनि जागरुप हुनुपर्ने उनको भनाइ छ । उनले कपिलवस्तु खुला संग्रहालय जस्तै भएको बताए । ‘सरकारले पर्यटन विकासबाटै समृद्धि हासिल गर्न चाहन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘गोटिहवा र निग्लिहवाको विकाससँगै पुरातत्त्वको क्षेत्रमा अग्रणी रहेको कपिलवस्तुको विकासमा सरकार निरन्तर लागिरहन्छ ।’
पोखरेलले जिल्लाका खाली ठाउँहरूमा ठूला संरचना निर्माण गर्न सबैलाई आग्रह समेत गरे । इतिहास नै सम्पत्ति भएको उल्लेख गर्दै पोखरेलले सम्पदाबाटै इतिहास खोजी हुने बताए ।
त्यस्तै उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले पर्यटन क्षेत्रको विकासमा सरकार निरन्तर लागिरहेको बताइन् । उनले विश्वमै पहिलो पटक कपिलवस्तुमा क्रकुच्छन्द बुद्धको पूर्णकदको मूर्तिले यस क्षेत्रमा पर्यटकीय क्षेत्रका ठूलो ढोका खोलेको बताइन् ।