
काठमाडौं, २५ जेठ– सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुको नाममा छलफल शुरु गरेको छ । माओवादी केन्द्रसंग भएको भागवण्डामा कांग्रेसले ११ मन्त्रालय पाउने तय भएको छ ।
तीनजनालाई सरकारमा पठाइसकेको कांग्रेसले ८ जनाको नाम छनौटको तयारी गरेको छ । रामचन्द्र पौडेल समूहलाई ४, कृष्ण सिटौलाला समूहलाई १ मन्त्रालय दिएर बाँकी ३ मा मन्त्री पठाउने प्रधामनन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समूहको तयारी छ ।
देउवा समूहले मीनबहादुर विश्वकर्मा, भीष्म आङदम्बे, भरतबहादुर शाह, मोहन बस्नेत, एनपी सावद र राहमरि खतिवडा मध्यवाट मन्त्री छान्ने तयारी गरेको छ । सभापति देउवाले एकलौटी गरेको भन्दै मन्त्रीको नाम पठाउन अस्वीकार गरेको पौडेल समूहले सम्मानजक स्थान पाएमात्र सरकारमा पठाउने बताएको छ । पौडेल समूहले अर्थ मन्त्रालय पाउनु पर्ने दावी गरेको छ ।
अर्थमन्त्रालय पाएमा महेश आचार्यलाई पठाउने पौडेल समूहको तयारी छ । पौडेल समूहले प्रचण्ड सरकारमा सहभागि नवीन्द्रराज जोशीलाई दोहोर्याउने तयारी गरेको छ । महामन्त्री शंशाक कोइरालाले भने यसअघि सरकारमा सहभागि भइसकेका दीपक गिरिको नाम अगाडि सार्ने तयारी गरेका छन् ।
पौडेल समूहबाट मधेशी कोटामा रामकृष्ण यादवलाई सरकारमा पठाउने तयारी रहेको सो समूहका एक नेताले बताए । कृष्ण सिटौला समूहले भने भीमसेन दास प्रधानलाई सरकारमा पठाउने तयारी गरेको छ । मन्त्री छान्न कांग्रेसका तीनवटै गुटलाई समस्या परेको छ ।