३० जेठ २०८३, शनिबार

युरोकपको फाइनल आज : को होला विजेता ?

असार २७, २०७८
युरोकपको फाइनल आज : को होला विजेता ?

युरोकपको फाइनल खेल आइतवार (नेपाली समयअनुसार सोमवार बिहान) हुने भएको छ । 

फाइनलमा इंग्ल्यान्डको भिडन्त इटलीसँग हुन लागेको छ । लन्डनको वेम्ब्लीमा खेल हुँदैछ । 

सन् १९६६ मा पश्चिम जर्मनीलाई विश्वकपको फाइनलमा हराएपछि इंग्ल्यान्ड कुनै पनि महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन । तर यसपालि डेनमार्कलाई सेमीफाइनलमा हराएर इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ । 

उता इटलीले स्पेनलाई सेमीफाइनलमा हराएर फाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा पेनाल्टी शूटआउटले नतिजा निर्धारण गरेको हो ।

इटलीले यस प्रतियोगितामा शानदार प्रदर्शन गरेको छ । उसले एउटा पनि हार बेहोेरेको छैन भने उसका जीतहरू पनि प्रभावशाली छन् । विगत ३३ खेलदेखि इटली अपराजित छ । त्यसो त यस प्रतियोगितामा इंग्ल्यान्डले पनि कुनै खेलमा पराजय बेहोरेको छैन ।
 

युरोकपमा इटलीले पनि सन् १९६८ पछि उपाधि जितेको छैन । सन् २०१२ मा ऊ उपविजेता रहेको थियो । 
 

इंग्ल्यान्डको खेलाडीको कुरा गर्दा फिल फोडेन घाइते छन् । उनी शनिवारको अन्तिम ट्रेनिङ सेसनमा देखिएनन् । त्यसैले उनी शुरूआती लाइनअपमा नरहने सम्भावना छ । राइट विंगमा बुकायो साका र जेडन सान्चोबीच प्रतिस्पर्धा हुनेछ । 

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले चारजना डिफेन्डर उतार्ने पुरानै फर्मेसनलाई अपनाउने देखिन्छ । 

उता इटलीको कुरा गर्दा स्पिनाज्जोलाको अभाव इटलीलाई खट्किन सक्छ । उनको स्थानमा इमरसन पाल्मिएरीले स्पेनविरुद्ध राम्रो खेल देखाएका थिए र त्यस्तै खेल दोहोर्‍याउने अपेक्षा गर्न सकिन्छ । 

सम्भावित प्रारम्भिक लाइनअप
 

इंग्ल्यान्ड : (४-३-३) पिकफोर्ड, वाकर, स्टोन्स, मग्वायर, श, फिलिप्स, राइस, माउन्ट, साका, केन, स्टर्लिङ

इटली : (४-३-३) डोन्नारुम्मा, डी लोरेन्जो, बोनुच्ची, चिलिनी, इमरसन, बारेला, जोर्गिन्हो, भेरात्ती, चिएसा, इम्मोबाइल, इन्सिग्ने
 

इंग्ल्यान्ड र इटली दुवैले उच्चस्तरको खेल देखाएर प्रतियोगिताको फाइनलमा स्थान बनाएका हुन् । त्यसैले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा छ । 

इटलीले निकै राम्रो खेले पनि घरेलु मैदानमा समर्थकहरूको साथ पाएर इंग्ल्यान्डले उपाधि चुम्ने अपेक्षा गर्न सकिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्