०८ असार २०८३, सोमबार

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

असार २८, २०७८
माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

 निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रबाट कारबाही भोगेर निकालिएका नेताहरूले आयोगलाई सो दल अवैधानिक रूपमा रहेको भन्दै खारेजीको माग गरेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन नै दर्ता गराएका थिए । सो निवेदनमा २०६९ यता माओवादी केन्द्रले महाधिवेशन नगरेको र वैधता सकिएको जिकिर गरिएको थियो ।

आयोग पदाधिकारी बैठकले दल खारेज गर्नु संविधानभन्दा बाहिरको व्यवस्था भन्दै खारेजीका लागि दिएको निवेदनमाथि कुनै छलफल गर्न आवश्यक नै नभएको निष्कर्षसहित माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले संवैधानिक र कानुनी सर्त पूरा गरेर दर्ता भएको दलको दर्ता खारेज नहुने निर्णय आयोगको पदाधिकारी बैठकले गरेको जानकारी दिए । ‘पदाधिकारी बैठकले माओवादी केन्द्र संवैधानिक र कानुनी सर्तसहित दर्ता भएकाले वैध रहेको निष्कर्ष निकालेको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४, ले व्यवस्था गरेका संवैधानिक र कानुनी सर्तहरू पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनुपरेन’ आयोगको निर्णयमा भनिएको छ ।

आयोगले सो दल वैधानिक रहेको पुष्टि गर्न विभिन्न उदाहरण पनि दिएको छ । आयोगले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल गौरवशाली पार्टी र अन्य राजनीतिक दल संयुक्त भई ३२ साउन २०७३ मा नेकपा माओवादी केन्द्र नामक दल दर्ता भएको देखिएको भनेको हो ।

यस्तै, राजनीतिक दलहरूलाई दर्ताका लागि सूचना जारी गरेपछि नेकपा माओवादी केन्द्रले ३० मंसिर २०७३ मा दल दर्ता गरेको र उसले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको उल्लेख गरेको छ ।

यसैगरी, आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २३ जेठ २०७५ मा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी नामक दल बनेको कारण पनि दिएको छ । नाम विवादले ती दलहरू अलगअलग हुने भनी सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको पनि आयोगले प्रस्ट्याएको हो ।

नेपालको संविधानको धारा २६९ को राजनीतिक दलसम्बन्धी व्यवस्थामा राजनीतिक दलको गठन दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था छ । यस्तै, धारा २७० ले राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज गरिने उल्लेख छ ।

यस्तै संविधानको धारा २७० को १ मा ‘धारा २६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाइने गरी बनाइएको कानुन वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ’ भन्ने उल्लेख छ ।

आयोगमा गत २३ असारमा अधिवक्ता बुढाथोकीले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १३ को उपदफा १ अनुसार दल दर्ता खारेज गर्न माग गर्दै निवेदन दिएका थिए ।

त्यसपछि माओवादी केन्द्रबाट कारबाही भोगेका नेता रामबहादुर थापा बादलसहित, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाहलगायतले आयोगलाई माओवादी केन्द्र खारेज गर्न दबाब दिँदै आइरहेका थिए । उनीहरू गत शुक्रबारसमेत सोही विषयमा आयोगलाई दबाब दिन पुगेका थिए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्