
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुनरुत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोभिड – १९ का कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र पर्यटन क्षेत्रभित्र पर्ने रेष्टुरेन्ट तथा बार व्यवसायलाई पनि अत्यन्तै असर परेको भन्दै यस व्यवसायलाई पुनर्उत्थान गर्न कम्तिमा एक पटकको लागि बिना धितो ५० लाख रुपैयाँ सम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको हो ।
त्यस्तै बैंकहरुबाट लिइएको ऋणको ब्याज र किस्ता व्यवसाय पुर्ण रुपमा सञ्चालन नभएसम्म कम्तिमा ३ वर्षका लागि थप गर्न तथा नीजि आवास निर्माणका लागि लिएको ऋणको ब्याजदरलाई सहुलियत दर र तिर्ने पुनर्तालिकीकरणको लागि बैंकहरुको समन्वय गरिदिन पनि एशोसिएशनको माग रहेको छ ।
यसैगरी बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्ने कार्यविधि बनाउन र रेष्टुरेण्ट क्षेत्रमा आश्रित कर्मचारीहरुको जीविकोपार्जनको लागि कम्तिमा ३ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन पनि माग गरेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालका कोषाध्यक्ष नरेश ध्वज श्रेष्ठले जानकारी दिए।
त्यस्तै एशोसिएसनले रेष्टुरेण्टमा पस्कने खानाको कच्चा पदार्थ पूर्ण रुपमा कृषि उपज हुने भएको र अधिकांश स्वदेशी उत्पादन नै हुने भन्दै १३ प्रतिशत मुल्य अभिवृद्धि कर खारेज गर्न पनि माग गरेको छ ।
सरकारले कर्मचारीलाई १० दिनको आन्तरिक भ्रमणमा जान दिई अतिरिक्त तलव भत्ताको उपलब्ध गराउने हुँदा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुलाई पनि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न समेत माग गरेको छ ।