काठमाडौं, २६ जेठ- छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुगे । उनलाई लाग्यो, 'छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।'छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उनले अन्त्येष्टि गराए ।

'सधैं उही साथ पाउन सकिन्न । दिनदिनै घरमा आउनेहरू घट्दै छन् । म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ । परिवार छ, पाल्नुपर्छ । काम नगर्दा खान पाइँदैन । कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो', छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भने ।
उनले आफ्नो एउटा अडान भने परिवर्तन गरेका छैनन् , 'छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय ।'गत सोमवार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।