२४ असार २०८३, बुधबार

पोखरा रंगशालामा खेलकुद प्रशिक्षण शुरू

साउन १, २०७८
पोखरा रंगशालामा खेलकुद प्रशिक्षण शुरू
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकुद अभ्यास र प्रशिक्षण पोखरामा शुक्रवारदेखि शुरू भएको छ ।

यसै वर्ष गण्डकी प्रदेशमा तय गरिएको नवौं राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्ष्य गरी प्रशासनको अनुमतिमा आंशिकरूपमा खेलकुद अभ्यास तथा प्रशिक्षण शुरू गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए ।

सम्बन्धित खेल संघले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार सिफ्ट विभाजन गरेर एक सिफ्टमा ६ देखि १२ जना खेलाडीले प्रशिक्षण गर्नेे उनको भनाइ छ । ‘इन्डोर’ खेलका अभ्यास साँझ र बिहान मात्र सञ्चालन हुनेछन् ।

प्रारम्भमा क्रिकेट, लनटेनिस र मार्सल आर्टस्का प्रशिक्षण शुरू भएको र स्थिति सहज भएको खण्डमा भदौदेखि नै सबै खेलका प्रशिक्षण शुरू गर्ने तयारी गरिएको बताइन्छ । 

अध्यक्ष बानियाँले भने, ‘लामो सयम खेलकुद गतिविधि ठप्प हुँदा खेलाडीको प्रतिभा गुम्ने र उनीहरूमा निराशा उत्पन्न हुने भएकाले आंशिकरूपमा अभ्यास तथा प्रशिक्षण शुरूआत गरेका छौं, गण्डकी प्रदेशको मुख्य प्रशिक्षणस्थल पोखरा रंगशालामा सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी प्रशिक्षण सञ्चालन गर्नेछौं ।’

गत वैशाख पहिलो हप्तादेखि पोखरामा सबै प्रकारका खेलकुद गतिविधि रोकिएका छन् । कोरोनाको दोस्रो लहर रोक्न वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेपछि रंगशाला पूर्णरूपमा बन्द भएको थियो ।

आसन्न नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि प्रशिक्षण शुरू गर्नुपर्ने भएकाले महानगर खेलकुद परिषद्, जिल्ला खेलकूद विकास समिति, प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकूद परिषद्का प्रतिनिधि सहितको छलफलले अभ्यास शुरू गर्न प्रशासनसँग आग्रह गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार असार ३१ गते कास्कीका प्रमुख जिल्ला अधिकारीले मापदण्ड पालना गर्ने गरी प्रशिक्षणका लागि अनुमति प्रदान गरेका बताइन्छ । 

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय ३ वर्षअघि नै भएको थियो । अघिल्लो वर्ष तय भए पनि कोरोनाका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस वर्ष राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरेको छ ।

प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लामा कम्तिमा एक खेल आयोजना हुने बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्