
नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेको सिंहले बताए । 'पार्टीको क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाले कोही धर्नामा, कोही रिले अनशनमा त कोही आमरण अनशनमा बस्नु भएको छ,' सिंहले लोकान्तरसँग भने,'पार्टीको सदस्यता इमान्दार नेता तथा कार्यकर्ताको हुने वा ठेकेदार, दलाल, तस्कर, दारु भट्टी सञ्चालकको हातमा हुने भन्ने लडाइँका लागि राजीनामा दिन लागेको छु ।'
राजीनामा लेखेर सभापति शेरबहादुर देउवालाई बुझाउन गइरहेको समेत उनले बताए । यस सन्दर्भमा पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासमेत सँग छलफल गरे पनि कुनै निकास ननिस्किएपछि राजीनामा दिन सभापति देउवाकोमा जान लागेको उनले बताए ।