
संग्लो खानेपानी भित्र धमिलो राजनिति पस्दा उपभोक्ताको टाउकोमा दैनिक ऋणको भार बढ्दै जान थालेको छ ।
नेताहरू र टाठाबाठाका लागि खानेपानी उपभोक्ता समिति राजनीति गर्ने थलो र कमाउ धन्दा बनिरहेका बेला उपभोक्ताको थाप्लोमा करोडौं ऋण थुप्रिन पुगेको हो ।
स्थानीय तहको चुनावमा मेयर तथा उपमेयरमा पराजित नेताहरू नै खानेपानी समितिको नेतृत्वमा छन् ।
झापा र मोरङमा केही खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कार्यालयका कर्मचारी र राजनिति गर्ने नेताका कारण ऋणमा डुब्दै गएका छन् ।
मोरङको बेलबारीमा रहेको साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तिनुपर्ने दायित्वमा साढे ५ करोडभन्दा बढी ऋणभार छ ।
उपभोक्ताको टाउकोमा ऋण भए पनि सबैभन्दा ठूलो राजनीति त्यहीँ हुन्छ ।
२०६३ सालमा ३ करोड ७६ लाख १६ हजार रुपैयाँ नगर विकास कोषसँग ऋण लिएको बेलबारी साना शहरी खानेपानी उपभोक्ता समितिका नाममा ऋण सावाँ ४ करोड २८ लाख ९९ हजार १ सय ५३ रुपैयाँ ६४ पैसा र ब्याज १ करोड २७ लाख ३८ हजार ८ सय ५५ रुपैया ९ पैसा छ ।
अहिलेसम्म समितिले साढे ५ लाख मात्रै नगर विकास कोषलाई बुझाएको व्यवस्थापक अनिश सुवेदीले बताए ।
यति ठूलो ऋण भएको संस्थामा समेत केही महिनाअघि धुमधामका साथ चुनाव भएको थियो ।
गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट उपमेयरको टिकट पाएकी रुक्मिणी धिमाल विजयी भएकी थिइन् ।
उक्त समिति मातहत १ हजार ९ सय ९१ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ भने मासिक ४ लाखको हारहारीमा आम्दानी हुने गरेको छ ।
****
मोरङकै सुन्दरहरैँचाको इन्द्रपुर खानेपानी उपभोक्ता समितिको अवस्था झन् कहालीलाग्दो छ ।
ऋण लिएर योजना सञ्चालन गरेपनि तिर्नेमा ध्यान नदिँदा मारमा उपभोक्ता पर्ने गरेको उद्योग वाणिज्य संघ कोशीहरैँचाका सदस्य समेत रहेका स्थानीय अगुवा महेश आचार्यले बताए ।
इन्द्रपुर खानेपानी उपभोक्ता समितिको नाममा १४ करोडको हाराहारीमा ऋण रहेको छ । मासिक १४ लाख रुपैयाँ उपभोक्ताबाट उठ्ने गरे पनि ऋणको सावाँ भने खासै घटेको छैन ।
१२ करोड नगर विकास कोषसँग ऋण लिएकोमा अहिले बढेर १४ करोड पुगेको उपभोक्ता समितिका अध्यक्ष केदारप्रसाद गुरागाईंले बताए ।
समितिले अहिलेसम्म २ करोड मात्रै ऋण घटाएको छ । गुरागाईंका अनुसार समितिले १२ करोड रुपैयाँ ऋण लिएको थियो ।
गुरागाईं गत स्थानीय तहको चुनावमा एमालेका तर्फबाट सुन्दरहरैँचा नगरपालिकाको मेयरका प्रत्यासी रहेका थिए ।
खानेपानीमा अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो । मेयरमा हारेका उनले खानेपानी उपभोक्ता समितिबाट भने बिदा लिएका छैनन् ।
समितिमा कर्मचारी समेत उनका आफन्त नै छन् । यस्तै कोषाध्यक्ष कृष्ण भट्टराईकी श्रीमतीलाई आम्दानीको मुख्य आयस्रोत महशुल बिल काट्ने ठाउँमा नियुक्त गरिएको छ ।
विवादका कारण कार्यसमिति सचिव मित्रसेन योञ्जन २ वर्षदेखि कुनै बैठकमा गएका छैनन् ।
खानेपानीका संरचना निर्माणको विषयलाई लिएर अध्यक्ष सचिवको दुरी बढेको हो ।
संरचनाहरु निर्माण गर्दा उपभोक्ता समिति तथा सेवाग्राहीलाई बोलाएर सम्झौता गरौँ भन्दा अध्यक्षले सुटुक्क ठेकेदारसँग सम्झौता गरेको सचिव योञ्जनको आरोप छ ।
अध्यक्ष सचिवको दुरी बढ्दै गएपछि सर्वदलीय बैठक समेत राखिएको थियो । तर सर्वदलीय बैठकले समेत कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।
कतिपयले भने अध्यक्ष र सचिवबीच लेनदेन नमिलेको आरोप लगाउने गरेका छन् ।
नयाँ धारा जडान गर्दा मासिक रूपमा १० देखि १४ लाखसम्म आम्दानी हुने गरेको कोषाध्यक्ष कृष्ण भट्टराई बताउँछन् ।
‘नयाँ धारा जडान भएका महिनामा १४ लाखसम्म र नियमित महशुलबापत ९ देखि १० लाखसम्म उठ्ने गरेको छ’ उनले भने ।
खर्च कति हुन्छ भन्ने विषयमा उनले केही बताउन चाहँदैनन् । समितिको हिसाबकिताब पारदर्शी नहुँदा अनियमितता बढ्दै गएको आरोप छ ।
साधारण सभा बोलाउन पटक–पटक माग गर्दा पनि अस्वीकार गरिएको नेकपा माओवादी केन्द्र सुन्दर हरैँचाका नेता नवराज चापागाईंको गुनासो छ ।
‘समितिलाई साधारण सभा गर्नुहोस् भनेर पटक–पटक भनेका छौं, तर उहाँहरू टेर्नुहुन्न, कारवाही गर्ने निकाय मौन भएको देख्दा अचम्म लागेर आउँछ,’ उनले भने ।
यता सुन्दरहरैचाका नगर प्रमुख शिव ढकालले पनि साधारण सभा गरी हिसाब सार्वजनिक गर्न पत्र पठाए पनि समितिले अटेर गरेको बताए ।
नगर विकास कोषले समेत पटक–पटक साधारण सभा गर्न तकेका गर्दै आइरहेको छ ।
२०६५ सालमा स्थापना भएको इन्द्रपुर साना शहरी खानेपानी उपभोक्ता समितिले अहिलेसम्म वार्षिक साधारण सभा समेत गरेको छैन ।