जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह ‘एलेक्स’ले पुरुष १०० मिटर फ्रीस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
टोकियोको एक्वेटिक सेन्टरमा मंगलवार भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ ।
हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । एलेक्सले दक्षिण एसियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पारे ।
नेपालकी अर्की खेलाडी गौरिका सिंहले बुधवार प्रतिस्पर्धा गर्नेछिन् । उनले १०० मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा हुनेछ ।
यसअघि शनिवार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसकेकी छन् । सोनियाले ४८ किलो तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए ।