०२ साउन २०८३, शनिबार

शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन- स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिनू

शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन- स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिनू

संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । 

समितिले परीक्षामा बस्नु पूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । 

त्यसैगरी गम्भीर प्रकृतिका र अस्पतालमा उपचार गराइरहेका परीक्षार्थीलाई भने दोस्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाउन भनिएको छ । 

त्यसैगरी समितिले सबै परीक्षा केन्द्रमा डाक्टर, नर्स र सामान्य औषधिहरू उपलब्ध गराउन भनेको छ । 

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति जयपुरी घर्तीले सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेतर्फ आवश्यक पहल र परामर्श गर्न पनि सरकारलाई निर्देशन दिइन् । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९ सम्बन्धि निर्देशिकाअनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाए । 

मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा परीक्षा केन्द्रमा कम्तीमा दुई मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उनको भनाइ छ । 

कोरोना संक्रमित परीक्षार्थीको हकमा परीक्षा सुरु भएको ३० मिनेटपछि मात्रै परीक्षा केन्द्रमा प्रवेश गराएर भिन्नै कोठामा राखी परीक्षा दिने व्यवस्था गरिएको उनले जानकारी दिए । 

सचिव थपलियाका अनुसार संक्रमित विद्यार्थीलाई शौचालय पनि फरक प्रयोग गर्ने व्यवस्था गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्