२२ असार २०८३, सोमबार
खोपमा राजनीति

क्रियाशील सदस्यलाई मध्यरातमा गुपचुप खोप लगाएको भन्दै मेयरविरुद्ध विराटनगरमा प्रदर्शन

साउन १४, २०७८
क्रियाशील सदस्यलाई मध्यरातमा गुपचुप खोप लगाएको भन्दै मेयरविरुद्ध विराटनगरमा प्रदर्शन

मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर नेपाली कांग्रेसका कार्यकर्ताको घरमा पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा तानिएका छन् ।

मेयर पराजुलीविरुद्ध महानगरपालिकाको गेटमा युवाले बिहीवार नारा जुलस नै गरेका छन् ।

‘रातिराति खोप दिन पाइँदैन’, ‘क्रियाशील सदस्यलाई खोप दिन पाइँदैन’, ‘जनता खोप वेटिङमा, मेयरसा’प शेटिङमा’, ‘मेयर पराजुली मुर्दावाद’ लगायतका नारा लगाएर वाईसीएल र केही अन्य युवाले नाराजुलुस गरेका छन् । 

बुधवार राति खोपसहित विराटनगर महानगरपालिका–५ निवासी कांग्रेस बुथ समितिका सभापति बिमलराज भण्डारीको घरमा पुगेर मेयर पराजुलीले कार्यकर्तालाई खोप लगाइदिएको आरोप छ । खोपको लागि कांग्रेस निकट कार्यकर्तालाई मात्र खबर गरिएको स्थानीयको आरोप छ ।

गुपचुप रूपमा पार्टी निकटलाई मात्र खोप दिएको सूचनापछि स्थानीय क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीलाई लखेटेको जनाइएको छ । स्थानीयको विरोधपछि मेयर पराजुली दौड्दै कांग्रेस नगर उपसभापति प्रविण जोशीको गाडी चढेर भागेका स्थानीयको आरोप छ ।

महानगरको अभिभावकबाट भएको हर्कत नसच्याए आन्दोलन गर्ने वाईसीएल विराटनगर महानगर इन्चार्ज आजम प्रवेशले चेतावनी दिए ।

घटनाबारे प्रतिक्रिया लिन मेयर पराजुलीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । पटक–पटक फोन गरेपनि उनले फोन उठाएनन् । मेयर पराजुलीका प्रेस सल्लाकार कौशल निरौलाले कांग्रेसको अधिवेशन नजिकिएकाले मेयरविरुद्ध झूटा प्रचार गरिएको बताए ।

साउन १२ र १३ गते विराटनगरमा लगाइएको खोपमा समेत तोकिएको उमेर समूहलाई नभई आफन्तलाई लगाएको आरोप मेयर पराजुलीमाथि छ ।

salt training

कमेन्ट गर्नुहोस्