
दार्चुलामा तुइनबाट खस्दा एक व्यक्ति महाकाली नदीमा बेपत्ता भएका छन् । शुक्रवार बिहान साढे ८ बजे भारत जान तुइनबाट महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर व्यास गाउँपालिका–२, मालका ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको दार्चुला प्रहरीले जनाएको छ ।
स्थानीयवासीले भने भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटेको आरोप लगाएका छन् । ‘स्थानीयका अनुसार एसएसबीले तुइन काटेको भन्ने छ, तर ठ्याक्कै के भएको हो अनुसन्धान जारी छ,’ दार्चुला प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने, ‘चार जना तुइन चढेर पारि पुगेछन्, पाँचौं व्यक्ति महाकाली नदीमा बेपत्ता भएका हुन् ।’
सुरक्षाकर्मीको आँखा छलेर त्यहाँका स्थानीय तुइनबाट महाकाली नदी पार गरेर भारतको पिथौरागढ आउजाउ गर्ने गर्छन् ।