
गृहमन्त्री बालकृष्ण खाणले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने र अडान लिने बताएका छन् । उनले समितिको सिफारिशका आधारमा अगाडि बढ्न सरकार तयार रहेको बताए ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा दार्चुला घटनाबारे जानकारी गराउँदै मन्त्री खाणले घटना सम्बन्धमा सरकार गम्भीर भएकाले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको बताएका हुन् ।
एमाले सांसदहरूले घटनामा एसएसबीको प्रत्यक्ष संलग्नता रहेको र जयसिंह धामी चढेको तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग किन कुरा नगरेको भनेर प्रश्न गरेका थिए ।
‘घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरिसकेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि, घटनाको सत्यतथ्य आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख कुरामा जुनसुकै अडान लिन हामी तयार छौं,’ खाणले भने, ‘त्यसका लागि आवश्यक पहल गर्न, निर्णय गर्न, आफ्नो धारणा सार्वजनिक गर्न र अगाडि बढ्न गृह मन्त्रालय तथा नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु ।’
एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा ‘हाम्रो कम्फरटेबल र परमादेशले बनेको सरकार’ भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गरेका थिए ।
यस्तै एमालेकै सांसद कोमल ओलीले सोधेकी थिइन्–
‘तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकार समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ ? कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?’