
गृहमन्त्री बालकृष्ण खाणले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका सम्बन्धमा छानबिन गर्न गठित समितिले दिने प्रतिवेदनका आधारमा सरकारले दृढतापूर्वक अडान लिने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदनलाई सरकारले दृढतासाथ अगाडि बढाउने बताएका हुन् । दार्चुला घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागबारे गृहमन्त्रीले जवाफ दिएनन् ।
‘दार्चुला घटना सम्बन्धमा माननीय सदस्यहरूको संवेदनशीलताको सम्मान गर्छु । सरकारले छानबिन समिति बनाएको छ । समिति दार्चुला जिल्ला र घटना घटेको मालघाटमा पुगेर छानबिन गर्नेछ । तुइन तर्न सफल भएकासँग पनि भेटघाट गर्नेछ । उहाँहरूको जानकारीलाई पनि छानबिन समितिले आधार बनाउने छ । सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने हो,’ गृहमन्त्री खाणले भने, ‘प्रतिवेदनले गरेको निष्कर्षलाई सरकाले दृढता साथ अगाडि बढाउने छ । नागरिकको जीवनरक्षाका लागि नै राज्य र सरकार बनेको हो । नागरिकको जीवन रक्षामा हामी गम्भीर छौं ।’
एमाले सांसदहरूले घटना सम्बन्धमा गृहमन्त्रीको सम्बोधन फितलो भएको बताउँदै संसदीय छानबिन समिति गठनको माग गरेका थिए । ‘छानबिन समितिको प्रतिवेदन आइसकेपछि अन्तिम निष्कर्ष निस्किने छ । त्यो तथ्यका लागि अडान लिने र दृढताका साथ अगाडि बढाउने विश्वास दिलाउँछु,’ गृहमन्त्री खाणले भने ।
एमालेले दार्चुला घटना सम्बन्धमा भारतसँग औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको थियो ।