
आफ्नै घरमा बसेर घरभाडा लिएका प्रदेश सांसदले प्रदेश सभामा बैठक भत्ताको समेत माग गर्न थालेका छन् ।
दैनिक ज्याला मजदुरी गरी आफ्नो जीविका चलाइरहेकाहरू कोरोनाका कारण भोकै हुँदासमेत सभामा कुरा नउठाएका सांसदले आफ्नो सेवा सुविधाका विषयमा भने पटक–पटक कुरा उठाइरहेका छन् ।
आइतवार प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सभा सदस्यहरूलाई यातायात खर्च र बैठक भत्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
सभामा बोल्दै सांसद संग्रौलाले ‘लुट्न भुट्न सबै मिल्छ तर सांसदलाई भत्ता दिन मिल्दैन’ भनेर प्रश्नसमेत गर्न भ्याए ।
दुई वर्ष बैठक भत्ता लिएका सांसदहरूले गत वर्षदेखि भत्ता पाएका छैनन् । प्रदेश सरकारले बजेटको व्यवस्था गरे पनि संघीय सरकारले भत्ता रोक्नू भनी परिपत्र गरेकाले सांसदहरूलाई भत्ताबापतको रकम वितरण नगरिएको प्रदेश सभा सचिव गोपाल पराजुलीले बताए ।
चालू आर्थिक वर्षमा भने प्रदेश सरकारले भत्ताका लागि बजेटमा व्यवस्था नगरेकाले दिन नसकिने पराजुलीको भनाइ छ ।
पहिलो वर्ष ७०० र दोस्रो वर्ष एक हजार रूपैयाँ प्रतिबैठक सांसदहरूले भत्ता लिएका थिए । चार वर्ष पुग्न लाग्दा समेत प्रदेशको नाम दिन नसकेका सांसदहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि भने प्रदेश सभामा कुरा राखेका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा एक जना सांसदले ८६ हजार ८९६ रूपैयाँ ५५ पैसा घरभाडा बुझेका छन् ।
संसद् सचिवालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा एक लाख ८० हजार रूपैयाँ लिएका सांसदहरूले २०७६/०७७ र २०७७/०७८ मा दुई लाख २८ हजारका दरले दुई वर्षको चार लाख ५६ हजार बुझेका छन् ।