
राष्ट्रियसभा सदस्य रामलखन चमारले नेपाल गण्डक पश्चिमी सिचाइ प्रणाली र गण्डक बाँधका कारण स्थानीय क्षेत्र डुबानमा पर्ने समस्याबारे अध्ययन हुनुपर्ने माग गरेका छन् ।
बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद चमारले भने, ‘यी क्षेत्रको अध्ययन गर्न राष्ट्रिय सभाबाट संसदीय समिति गठन होस्, यथार्थ छानबिन होस्, त्यहाँका किसानको खेत बाढी डुबान नहुने सुनिश्चित हुनुपर्यो ।’
सांसद चमारले बाढीको समस्याका कारण त्यहाँका युवालाई कसैले पनि छोरी नदिने गरेको गुनासो गरे । ‘त्यो क्षेत्रमा कसैले आफ्नो छोरी दिन मान्दैन, त्यहाँका युवासँग कसैले छोरी दिएर बिहे गर्न मान्दैन । किन त्यहाँ बाढीले जर्जर अवस्था बनेको छ,’ उनले भने, ‘सिँचाइ प्रणाली अन्तर्गत डुबान शुरू भएको २०५० सालदेखि २८ वर्ष हुनपुग्यो । बर्सेनि बाढीले केही गाउँपालिकाका वडा डुबान हुने गरेका छन् । गण्डक बाँधको सम्झौता हो, विवादित, राष्ट्रघाती सम्झौताको रूपमा परिचित छौं, त्यसबाट त्यो क्षेत्रका जनता डुबानबाट प्रताडित छन् ।’