२१ जेठ २०८३, बिहीबार

एनआईसी एशिया बैंक अधिकांश सूचकांकमा देशकै अग्रणी स्थान हासिल गर्न सफल

एनआईसी एशिया बैंक अधिकांश सूचकांकमा देशकै अग्रणी स्थान हासिल गर्न सफल

मुलुकको बैंकिङ क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।

बैंकले आव २०७७/७८ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरणमा बैंकिङ क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहपूर्ण रहेका छन् ।

बैंकले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरूप कोभिड–१९ महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि आव २०७७/७८ मा व्यवसायतर्फ हासिल गरेको वित्तीय नतिजा नेपालको समग्र बैंकिङ क्षेत्रकै ऐतिहासिक र हालसम्मको सर्वाधिक उच्च रहेको बैंकले जनाएको छ ।

आव २०७७/७८ मा बैंकले कर्जातर्फ करीब ९१ अर्बको वृद्धि गरी कूल कर्जा रकम २६५ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करीब ७१९ अर्बको कूल कर्जा वृद्धिमा बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको कूल कर्जा वृद्धिको औसत प्रतिबैंक कर्जा वृद्धि रकम करीब २४.१५ अर्ब रुपैयाँको तुलनामा बैंकको एनआईसी एशिया वृद्धि करीब ३.७६ गुणा रहेको छ ।

बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करीब ९० अर्बले वृद्धि गरी कूल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै रहेको बैंकले जनाएको छ ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करीब ६५५ अर्ब रुपैयाँको कूल वृद्धिमा बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रतिबैंक निक्षेप वृद्धि करीब २१.७३ अर्ब रुपैयाँको तुलनामा बैंकको वृद्धि करीब ४.१४ गुणा रहेको छ । बैंकले आव २०७७/७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २८.११ रुपैयाँ पुर्‍याएको छ ।

बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) १७.१४ प्रतिशत रहेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ । अघिल्लो आव २०७६/७७ मा समेत बैंकको आरओई वाणिज्य बैंकमध्ये सबैभन्दा बढी थियो ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले इन्टरप्राइज लेभल रिस्क म्योजमेन्ट एप्रोच अवलम्बन गर्दै साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरूप कोभिड–१९ को विषम परिस्थिति तथा चुनौतीका बाबजुद कर्जा असूलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई आव २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आव २०७७/७८ को चौथो त्रयमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ । 

गत आर्थिक वर्षसम्ममा बैंकले कूल कर्जा लगानीको अंशमा करीब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको जनाइएको छ । ‘साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा बैंक अग्रणी स्थानमा रहेको छ । बैंकले अवलम्बन गरेको अब्बल जोखिम व्यवस्थापन रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको छ र सो समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ । साथै, बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको छ । यस बैंकको कूल कर्जामा रू. ५ करोडभन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ,’ बैंकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आव २०७७/७८ मा ४ लाख ६६ हजार ४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी बैंकको कूल २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ । देशको कूल जनसंख्यामध्ये २० वर्ष उमेर समूहदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करीब २५ प्रतिशत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल भएको जनाइएको छ ।

‘बैंकिङ क्षेत्रका विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको बैंक आव २०७७/७८ को तेस्रो त्रयमासमा कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, शाखा कार्यालय र एटीएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । सोही अवधिमा खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेप (सीएएसए) मा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रति शेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

डिजिटल फर्स्टको रणनीति अंगीकार गर्दै बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरी आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइभ स्टाइल बैंकिङको अवधारणा अंगीकार गरेको छ । फलस्वरुप आव २०७७/७८ को अन्त्यमा बैंकको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आव २०७६/७७ मा ७०ः३० रहेको थियो । 

बैंकको डिजिटल कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको प्रक्षेपण रहेको छ । बैंकले आव २०७७/७८ मा मोबाइल बैंकिङमा २ लाख ८९ हजार (२५ प्रतिशत) ले ग्राहकहरू वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करीब १३ प्रतिशत हिस्सासहित कूल १४ लाख २६ हजार प्रयोगकर्ता पुर्‍याउन सफल भएको छ । इन्टरनेट बैंकिङ ग्राहकहरू २१ हजार (१९ प्रतिशत) ले वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करीब २४ प्रतिशतसहित कूल १ लाख ३३ हजार प्रयोगकर्ताहरू पुर्‍याउन बैंक सफल भएको छ ।

डेबिट कार्डतर्फ २ लाख ४५ हजार (२८ प्रतिशत) ले प्रयोगकर्ताहरू वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करीब २० प्रतिशतसहित कूल ११ लाख ३० हजार पुर्‍याउन बैंक सफल भएको छ । क्यूआर मर्चेन्टतर्फ ४० हजार (२६८ प्रतिशत) ले वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करीब १४.५२ प्रतिशतसहित कूल ५५ हजार क्यूआर मर्चेन्ट पुर्‍याउन बैंक सफल भएको छ । 

मुलुकको बृहत्तर हित र सर्वाङ्गीण विकास तथा नेपाल सरकारले लिएको वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नको लागि ठोस टेवा पुर्‍याउने उद्देश्यले बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्‍याएको जनाइएको छ ।

नियमनकारी निकायले कूल कर्जा प्रवाहको ५ प्रतिशत कर्जा देशका विपन्न वर्गलाई प्रवाह गर्नुपर्ने व्यवस्था गरेकोमा बैंकले गत आवमा कूल कर्जा रकमको ७.४ प्रतिशत अर्थात् करीब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरी सीमान्तकृत जनसंख्याको जीवनस्तर उकास्नको लागि अनुकरणीय तवरले आफ्नो उत्तरदायी भूमिका निर्वाह गरेको छ । कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । 

बैंकले हालसम्म ३५६ शाखा, ४७१ एटीएम, ७० विस्तारित काउन्टर तथा ८१ शाखारहित बैंकिङ जस्ता सञ्जालमार्फत आफ्ना ग्राहकको बैंकिङ आवश्यकता पूरा गरिरहेको छ । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी बैंकले गरेको छ ।

बैंकले आव २०७७/७८ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको जनाइएको छ ।

२४ वर्षको अवधिमा आफ्ना शेयरधनीको ‘अप्टिमम वेल्थ म्याक्सिमाइजेसन’ गरी लगानीमा उच्चतम प्रतिफल प्रदान दिन बैंक सफल भएको छ । सर्वसाधारण शेयरधनीको शुरूआती एक कित्ता पब्लिक शेयरको मूल्य हाल १३ हजार ६६२ हुन पुगेको छ, जुन शुरूवाती लगानी रकमको करीब १३६ गुणाको वृद्धि हो ।

बैंकका प्रमुख सूचना अधिकारी नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘बैंकले अंगीकार गरेको ग्राहक केन्द्रीत व्यवसायिक रणनीतिका कारण ग्राहक महानुभावहरुको सर्वोपरी हित तथा सुविधालाई केन्द्रमा राखी बैंकले सदैव आफ्नो नीति तथा रणनीति तर्जुमा गरी उत्कृष्ट सेवा तथा सुविधाहरु सुनिश्चित गरेको फलस्वरूप आज देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएका छौं । यस अवसरमा बैंकप्रति अगाध स्नेह तथा भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त आदरणीय ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत हजुरहरु सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत रहँदै हजुरहरू सबैमा बैंक सादर नमन गर्दछ । नेपालको वित्तीय क्षेत्रमा आज बैंक जहाँ छ, जे छ र जस्तो आकारको छ त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा सम्पूर्ण सरोकारवालाहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प समेत यसै पूनीत अवसरमा बैंक दोहोर्‍याउन चाहन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्