२७ जेठ २०८३, बुधबार

एमालेका १४ सांसदको कारबाहीमा चाँडो निर्णय गर्न सभामुखलाई दबाब

एमालेका १४ सांसदको कारबाहीमा चाँडो निर्णय गर्न सभामुखलाई दबाब

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टीले कारबाही गरेका १४ जना सांसदबारे चाँडो निर्णय गरिदिन भनेका छन् । 

प्रमुख सचेतक भट्टराई १३ जना सांसदसहित सभामुखको कार्यकक्षमा सापकोटालाई भेट्न गएका थिए ।

भेटमा एमालेले कारबाही गरेका सांसदको विषयमा चाँडो निर्णय गर्न भनिएको छ । 

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १४ जना सांसदलाई कारबाही गरेर सांसद पदबाट हटाएको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो । 

सभामुख सापकोटाले सूचनाको विषयमा संविधान, कानून र नियम अनुसार छलफल, अध्ययन र परामर्श गरिरहेको भट्टराईलाई बताएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।

‘सभामुखले कारबाहीको सूचनाको सम्बन्धमा अध्ययन र परामर्श गरिरहेको छु भन्नुभएको छ,’ न्यौपानेले भने । 

एमालेले माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुनलाई कारबाही गर्ने निर्णय गरेर संसद सचिवालयमा पत्र पठाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्