
कोरोना भाइरसको संक्रमणबाट हुने अक्सिजनको कमीलाई रोकथामका लागि प्रयोग हुने औषधि वसन्त चौधरी फाउन्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्युट्रिसन एन्ड हेल्थको पहलमा नेपाल ल्याइने भएको छ ।
अमेरिकी पूर्व सिनेटर ड्यान शेली र फाउन्डेसनको सहकार्यमा ‘नाइट्रिक अक्साइड’ नामको औषधि परीक्षणका लागि नेपाल ल्याउन लागिएको हो ।
वैज्ञानिक डाक्टर न्याथन ब्रायनले प्रतिपादन गरेको औषधि कोरोना संक्रमणविरुद्धको उपचारमा प्रभावकारी हुने बताइएको छ ।
‘यो कोरोना भाइरसका कारण अक्सिजन लिन समस्या हुने बिरामीलाई सहयोगी हुन्छ,’ डाक्टर ब्रायनले पत्रकार सम्मेलनमा भने ।

डा. ब्रायनको दाबी अनुसार नाइट्रिक अक्साइड प्रयोग गरेको ७२ घण्टामा यसले अक्सिजन लिन सहयोग गर्छ ।
यो औषधि उच्च रक्तचाप, मधुमेह, मोटोपना, मिर्गौलासम्बन्धी समस्या भएका बिरामीका लागि समेत उचित हुने बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यो कोरोना संक्रमण भएको ७२ घण्टापछि सेवन गर्नुपर्ने डा. ब्रायनले बताए ।

नेपालमा यसलाई वसन्त चौधरी फाउन्डेसन र अमेरिकी पूर्व सिनेटर ड्यान शेलीको सहकार्यमा निःशुल्क वितरण गरिने चौधरीले बताए ।
‘यो हामीले निःशुल्क वितरण गर्ने छौं । सिनेटर शेलीको टेक्निकल र हाम्रो लजिस्टिक सहयोगमा नेपालमा ल्याउन लागेका छौं,’ नर्भिक इन्टरनेसनल अस्पतालका संस्थापक समेत रहेका चौधरीले भने, ‘यो नेपाली बजारमा धेरै महंगो पर्न जाने भएकाले हामीले आर्थिक भार उठाउन लागका हौं ।’
नेपाल सरकारसँग स्वीकृति लिने प्रक्रिया अगाडि बढेको र अबको ६ महिनाभित्रमा ७ लाख ५० हजार अमेरिकी डलर बराबरको १० हजार बोत्तल औषधि नेपाल ल्याउने उनले बताए ।

पूर्व सिनेटर शेली र डा. ब्रायनले औषधि अनुदानमा उपलब्ध गराउने छन् ।
१० हजार बोत्तल औषधिले २० हजार परिवारलाई पुग्छ । यो ड्रग मेडिसिन नभएर 'डायटरी सप्लिमेन्ट' भएकाले डब्ल्यूएचओ लगायतको अनुमति नचाहिने दाबी पत्रकार सम्मेलनमा गरिएको छ ।
अमेरिकामा १० वर्षदेखि प्रयोगमा आइरहेको ‘नाइट्रिक अक्साइड’ कोरोनाविरुद्धको औषधिका रूपमा सन् २०२० र २०२१ मा पहिलो र दोस्रो चरणको परीक्षण पूरा गरी तेस्रो चरणको परीक्षण पनि अन्तिम चरणमा पुगेको डा. ब्रायनले पत्रकार सम्मेलनमा दाबी गरे ।