
यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौंअघि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।
जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वयन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधवार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई बुधवार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित थिए ।
आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा यसअघि एकै महिनामा २३८ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।
‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘हामी पुराना फाइल हेदैछौं । दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौं ।’
प्रहरीका अनुसार फरार भइ हालसम्म पक्राउ परेकाहरूबाट ८० वर्ष २ महिना २३ दिन कैद भुक्तान र १४ लाख ७९ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको छ ।