
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
मङ्गलबार सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सो बारे पनि छलफल हुने बताइएको छ ।
यसैगरी कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।
प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।